डोटीको बास्कोटमा ट्याक्टर दुर्घटना

  बिहिबार ०८, चैत २०८० २१:२५

डोटी । डोटीमा ट्याक्टर दुर्घटना भएको छ। ट्याक्टरमा छ जना सवार रहेकोमा तीन जना घाइते भएका छन्।

आज (बिहिवार) दिउँसो दिपायल बाट झिगाबस्ती तर्फ गइरहेको लु २ त ९७६४ नम्बरको ट्याक्टर दिपायल बोगटान सडक खण्डको केआइसिंह ४ बास्कोटमा दुर्घटना भएको हो। ट्रली सडकमै पल्टिँदा दुर्घटना भएको हो।

दिपायल बोगटान सडक खण्डमा काम गर्ने तीन जना मजदुर घाइते भएका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। घाइते हुनेमा कैलालीको टीकापुर नगरपालिका–६ का १७ वर्षीय राहुल चौधरी, २२ वर्षीय पर्शु चौधरी र कैलालीकै भजनी नगरपालिका–८ का ३० वर्षीय दुर्जन चौधरी रहेका छन्।

घाइते राहुल र पर्शु सुजङ्ग अस्पताल राजपुरमा उपचार पश्चात् डिस्चार्ज भएका छन् भने दुर्जनलाई थप उपचारको लागि धनगढी रिफर गरिएको छ। ट्याक्टर चालक कैलालीको घोडाघोडी नगरपालिका–१२ का ४० वर्षीय बालकृष्ण चौधरी भने फरार रहेका प्रहरीले जनाएको छ। 

clock बिहिबार ०८, चैत २०८० २१:२५

प्रतिक्रिया