डडेल्धुरामा उपमेयरले हाकिम कुटेपछि कर्मचारीद्वारा सेवा ठप्प

  आइतबार ०४, चैत २०८० १५:१४

डडेल्धुरा । कार्यपालिका बैठकमै हाकिम कुटिएपछि डडेल्धुराको परशुराम नगरपालिकाका कर्मचारीहरूले आन्दोलित हुँदै सेवा ठप्प पारेका छन् । आइतवार उनीहरूले निधारमा कालोपट्टी बाँधी अत्यावश्यक स्वास्थ्य उपचार सेवाबाहेक सम्पूर्ण सेवा अवरुद्ध पारेका हुन् ।

गत बिहीवार निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कार्यपालिका बैठकमै कुटपिट भएको थियो । उपमेयर (उपप्रमुख) विमलाकुमारी बोहरा, वडा नं ७ का वडाध्यक्ष कर्णबहादुर धामी र १ का वडाध्यक्ष लालबहादुर धामीले प्रशासकीय अधिकृत जोशीमाथि कुटपिट गरेपछि उनको टाउकोमा तीन टाँका लगाउनु परेको थियो । धनगढीमा उपचारपछि उनी अहिले विश्राम गरिरहेका छन् ।

‘कार्यालयमै जनप्रतिनिधिहरूबाट कुटपिट हुन थालेपछि काम गर्ने वातावरण भएन । हामी पनि सुरक्षित छैनौँ । दोषीमाथि कारबाही नभएसम्म हामी आन्दोलनमा छौँ,’ परशुराम नगरपालिकाकी प्रशासकीय अधिकृत शोभा जोशीले भनिन् ।

कार्यालय परिसरमा कर्मचारीहरू टाउकोमा कालोपट्टी बाँधी विरोध जनाइरहेका छन् । प्रहरीले जाहेरीसम्म दर्ता नगरेको उनीहरूको गुनासो छ । माग सम्बोधन नभएसम्म निरन्तर आन्दोलनमा हुन्छौँ । नगर प्रमुख र उपप्रमुखले तत्काल छलफलमा बोलाएर सहमति गर्नुपर्छ । यही अवस्थामा हामीले नगरपालिकाबाट सेवा दिन सक्दैनौँ,’ जोशीले भनिन् ।

clock आइतबार ०४, चैत २०८० १५:१४

प्रतिक्रिया