डोटीमा बन्ध्याकरण गर्नेलाई खाना, कपडा र यातायात पनि नि:शुल्क

  सोमबार ०७, फागुन २०८० २०:५३

डोटी । स्थायी बन्ध्याकरण गर्नेलाई केआईसिंह गाउँपालिकाले नि:शुल्क खाना, न्यानो लुगा तथा एम्बुलेन्स सेवा उपलब्ध गराएर प्रोत्साहन गरेको छ । सोमबार दुर्गामाण्डौ स्वास्थ्य चौकीमा सम्पन्न परिवार नियोजन सम्बन्धी शिविरमा १८ जनाले स्थायी बन्ध्याकरण गराएका थिए । 

स्वास्थ्य कार्यालय डोटीको आयोजना तथा नेपाल परिवार नियोजन संघ कैलालीको सहकार्य र केआईसिंह गाउँपालिकाको समन्वयमा आइतबारदेखि जिल्लाका विभिन्न स्थानहरुमा परिवार नियोजन सम्बन्धी विभिन्न स्थायी बन्ध्याकरणको शिविर चलाइएको छ ।

सोमबार केआईसिंह गाउँपालिकामा सम्पन्न बन्ध्याकरण शिविरमा ७ जनाले मिनिल्याप, ३ जनाले भ्यासेक्टोमी, ४ जनाले आई..सि.डी तथा ४ जनाले ईम्प्लान्ट लगाएको जिल्ल स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले जानकारी दिए ।

आइतबार बोगटान फूडसिल गाउँपालिकाको चवराचौतारा स्वास्थ्य चौकीमा सञ्चालन भएको शिविरमा ६ जना महिला र ६ जना पुरुष गरी १२ जनाले सेवा लिएको प्रमुख मलासीले बताए ।

अशिक्षा र जनचेतनाको अभावले स्थायी बन्ध्याकरण गर्ने संख्या न्यून रहेकाले गाउँपालिकाकाले प्रोत्साहनका लागि यातायात, खाना र न्यानो लुगाको प्रबन्ध गरेको स्वास्थ्य शाखा प्रमुख नविन माझीले बताए ।

उनले बन्ध्याकरण गर्नेलाई दुइ छाक खाना तथा खाजा र न्यानो लुगाको रुपमा कम्बल हस्तान्तरण गर्नुका साथै बन्ध्याकरण गरेकालाई घरसम्मै पालिकाको एम्बुलेन्समा पुर्‍याइएको जानकारी दिए ।

clock सोमबार ०७, फागुन २०८० २०:५३

प्रतिक्रिया