निसर्ग अस्पतालले डडेल्धुराको जोगबुडा अस्पतालमा बैशाख २९ गते निःशुल्क स्वास्थ्य शिविर संचालन हुने

  बिहिबार २७, बैशाख २०८१ १५:०६

धनगढी। डडेल्धुराको जोगबुडा अस्पतालमा बृहत निःशुल्क स्वास्थ्य चेकजाँच तथा उपचार शिविर संचालन हुने भएको छ । निसर्ग अस्पताल धनगढी, लायन्स क्लब अफ धनगढी हेल्थ एण्ड मेडिको र परशुराम नगरपालिका जोगबुडा अस्पताल डडेल्धुराको संयुक्त आयोजनामा बैशाख २९ गते शनिवार निशुल्क स्वास्थ्य चेकजाच शिविर हुने भएको हो । 

बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म संचालन हुने शिविरमा फिजिसियन (जनरल मेडिसिन) डाक्टरद्वारा मुटुरोग, ब्लड प्रेशर, सुगर, पेट, ग्यास्ट्रीक, अल्सर, छाती, दम, कलेजो,कोलेस्ट्रोल, टाईफाईड, थाईराईड, हर्मोन, डेंगु, स्क्रब टाईफस, सिकलसेल, एनिमिया आदिको विशेषज्ञ उपचार सेवा निशुल्क दिइने बताइएको छ।

यस्तै हाडजोर्नी, नसा तथा बाथरोग विशेषज्ञ डाक्टरद्वारा अत्याधुनिक कम्प्युटर प्रविधिबाट भाँचिएका,मर्केका,जन्मजात बांगाटिंगा भएका हड्डीहरुको उपचार तथा अप्रेशन लगायत हाडजोर्नीको संक्रमण, बाथरोग, यूरिक एसिड,जोर्नी,घुंडा,काँध, कमर, गर्दन दुखाई, हातखुट्टारजिउ झमझम गर्नेको उपचार साथै शरीरमा राखिएका रड,प्लेट,पिन आदि अप्रेशनबाट झिक्ने सेवा प्रदान गरिने जनाइएको छ । 

यस्तै स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टरद्वारा तल्लो पेट दुख्ने,महिनावारी गडबडी, पाठेघरमा मासु पलाएको, बाँझोपनको समस्या, डेलिभरी लगायतको सम्पूर्ण उपचार तथा अप्रेशन सेवा उपलब्ध हुनेछ । मानसिक रोग विशेषज्ञ डाक्टरद्वारा सोचाई र बिचारमा गडबडी, मनमा कुरा खेलीरहनु, विनाकारण डर लाग्नु, झर्को लाग्ने, निराश हुने, शंका लाग्ने, मुटु ढुकढुक हुने, टाउको दुख्ने, यौन चाहनामा कमी आउने, बेहोस हुने आदि रोगको उपचार सेवा शिविरमा उपलब्ध हुने बताइएको छ ।

जनरल सर्जरी तथा युरो सर्जरी विशेषज्ञ डाक्टरद्वारा जनरल तथा दुरबिन प्रविधिबाट एपेन्डिक्स, पत्थरी, हाईड्रोसिल, हर्निया, पाईल्स, फिस्टुला, स्तन तथा शरीरका गाँठा–गुठी, मृगौला (किड्नी),पिसाबनली,पिसाब थैलीको पत्थरी तथा प्रोष्टेट ग्रन्थी सम्बन्धि सानो प्वाल पारी दुरबीन प्रविधि (Mini PCNL)  तथा बिना चिरफाड (Endoscopic) विशेषज्ञ उपचार तथा अप्रेशन सेवा शिविरमा रहने छन्।

यस्तै विशेषज्ञ डाक्टरहरुद्वारा चेकजाँच तथा परामर्श,औषधि वितरण, ल्याब, एक्सरे, ईसिजी, भिडियो एक्सरे लगायत जाँचहरु हुने र थप चेकजाँच उपचार तथा अप्रेशनमा ३०% सम्म छुट रहेको बताइएको छ । विशेषज्ञ डाक्टरको सुविधा नभएको जोगबुडा,डडेल्धुरामा विशेषज्ञ चिकिस्तकहरुद्वारा बृहत स्वास्थ्य चेकजाँच तथा उपचार शिविर संचालन हुने हुँदा चेकजाँच गराई लाभ लिन सबैमा आग्रह गरिएको छ।

clock बिहिबार २७, बैशाख २०८१ १५:०६

प्रतिक्रिया