प्रेम दिवसको सुरुवात र पश्चिमा शैलीको अनुकरण

  बुधबार ०२, फागुन २०८० ०६:४१

मान सिंह धामी । फेब्रुअरी १४ सन्त भ्यालेन्टाइनका डे। सामान्यतया, भ्यालेन्टाइन डेकारुपमा प्रख्यात दिन हो। सन्त भ्यालेन्टाइनको सम्झनामा प्रत्येक वर्ष फेब्रुअरी १४ लाई विश्वभरिका थुप्रै देशहरूमा भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवसको रूपमा मनाइन्छ। भ्यालेन्टाइन डे को पछाडि एउटा दुःखद इतिहास लुकेको छ। जुन हामीमध्ये कतिपयलाई जानकारी नहुन पनि सक्छ। यो दिन सुरु हुनुको पछाडि भ्यालेन्टाइनको देन त छ नै तर भ्यालेन्टाइन को हुन् त ?

तेस्रो शताब्दीमा रोममा एक शासक थिए, जसको नाम क्लोडियस थियो। उनको मान्यता थियो, जब बिहे गरिन्छ पुरुषको शक्ति र बुद्धि नष्ट हुन्छ। त्यही कारण उनले राज्यमा यस्तो उद्घोष गरिदिए, ‘आजदेखि कुनैपनि अधिकारी वा सैनिकले बिहे गर्न पाउनेछैन।’

तर, सन्त भ्यालेन्टाइनलाई क्लोडियसको यो कुरा मन परेन। उनले विरोध गरे। सन्त भ्यालेन्टाइनले सबैलाई बिहे गर्नका लागि उक्साए। जागरुक गराए। यही क्रममा केही अधिकारी र सैनिकले विवाह गरे ।

जब क्लोडियसलाई सन्त भ्यालेन्टाइनले आफ्नो मान्यता विपरीत प्रेम र विवाहका लागि अरूलाई प्रेरित गरे, भ्यालेन्टाइनलाई बन्दी बनाउने आदेश जारी भयो । उनलाई कालकोठरीमा बन्दी बनाइयो।

आखिरमा सन्त भ्यालेन्टाइनलाई फाँसी दिने भइयो। फाँसीको आदेश सुनेर सन्त भ्यालेन्टाइनले जेलरकी दृष्टिविहीन छोरीको नाममा एक प्रेम पत्र लेखे। र त्यसको मुनी लेखे, ‘फ्रेम योर भ्यालेन्टाइन ।’ यससँगै उनले प्रेमपूर्वक फूल उपहार पठाए। मृत्युअघि उनले जेलरलाई भने, ‘म मरेपछि मेरो आँखा तपाईकी आफ्नी दृष्टिविहीन छोरीलाई दिनु।’

राजाले ई. पू.२७० को १४ फेब्रुअरीमा भ्यालेन्टाइनलाई फाँसी दिए। यही दिनलाई भ्यालेन्टाइनको समर्पणमा मानिसहरुले भ्यालेन्टाइन डे मनाउन सुरु गरे। सुरुवाती दिनमा विधिवत् रूपमा भ्यालेन्टाइन डे मनाइन्थ्यो। त्यसबेला प्रेमी–प्रेमिकाको हातले बनाइएको मुटु आकारको कार्ड आदानप्रदान गरिन्थ्यो। त्यसमा आफ्नो भावना व्यक्त गरिएको हुन्थ्यो । अहिले त्यस स्थानमा रेडीमेड कार्ड छाएको छ । पश्चिमा देशमा क्रिसमसपछि सबैभन्दा एक आपसमा कार्ड आदानप्रदान गर्ने भनेकै भ्यालेन्टाइन डे मा हो।

आजभोलि भ्यालेन्टाइन डेलाई प्रेम दिवस भन्ने गरिन्छ। हुन त यो प्रेम दिवस मनाउने चलन विदेशीहरूको देखासिकी हो। आजको दिन प्रेमका लागि प्राण त्याग गर्ने तिनै सच्चा पादरीको सम्झनामा प्रणय दिवस मनाइने गरिएको हो। पछिल्लो समय भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस (प्रेम दिवस) मनाउनेको सङ्ख्या दिनानुदिन बढ्दो छ भने प्रेम दिवस मनाउने निहुँमा यसलाई विकृति र विसङ्गतिको रूपमा प्रयोग गर्नेको सङ्ख्या पनि बृद्धि भएको पाइन्छ।

यस दिन मन परेको मान्छेलाई प्रेम प्रस्ताव राख्ने, प्रेममा रहेकाले एकअर्कोकाको प्रेम भाव साटासाट गर्ने विभिन्न उपहार दिई मनाउने दिन हो। यो विगतमा पनि मन पराइएको मान्छेलाई चिठीपत्रद्वारा आफ्ना मनमा उब्जेका माया प्रेमका कुराहरू लेखेर चिठीपत्र मार्फत आदानप्रदान गरिन्थ्यो। समय परिवर्तनसँगै अझै भनौँ पश्चिमी संस्कृतिको प्रभाव स्वरूप प्रेम साटासाट गर्ने तरिकामा परिवर्तन आएको छ । अहिले भ्यालेन्टाइन डे प्रणय दिवसको रूपमा यसलाई मनाउँदै आएको पाइन्छ । आजको दिन मन परेको मान्छेलाई प्रेम प्रस्ताव राख्ने, प्रेममा रहेकाले एक अर्कामा प्रेम भाव साटासाट गर्ने, गुलाफको फूल आदानप्रदान गर्ने साथै विभिन्न उपहार दिइ मनाउने गरिएको पाइन्छ। माया गर्नु, माया गरेको मान्छेलाई प्रेम प्रस्ताव राख्नु, प्रेम दिवस मनाउनु आफैंमा नराम्रो कुरा भने अवश्य हुँदैन तर यसलाई कसरी प्रयोग गर्ने भन्ने कुरामा भने हरेक मायालु जोडी चनाखो हुनुपर्ने देखिन्छ।

प्रेम एउटा भावनासँग जोडिएको विषय हो। एउटा सच्चा भावना स्वार्थरहित प्रेम जुनी जुनी प्रेममा स्थायित्व प्राप्त गर्ने प्रेम नै वास्तवमा एउटा आदर्श प्रेम हो । प्रेममा प्राप्ति भन्दापनि त्याग, समर्पण र विश्वास गर्न सकेको अवस्थामा अझै प्रेम मौलाउँछ । प्रेमले जीवन जिउन सजिलो बनाउँछ। प्रेम निःस्वार्थ हुनुपर्छ। तर पछिल्लो समय भावनात्मक रूपमा भन्दा पनि विभिन्न स्वार्थ भावका साथ माया गर्नेहरूको जमात बढिरहेको देख्न सकिन्छ । यसो हुनु राम्रो होइन । यसकारण फूल विभिन्न उपहार दिएर गाँसिएको प्रेमभन्दा चोखो मनले गाँसिएको प्रेम नै मिठो र दिगो हुन्छ।

यसको साथै आजको दिन घर परिवार साथी भाइ आफन्तजनहरूमा आपसी प्रेम साटासाट गरेर यो दिवस मनाउन सकेकोमा समाजमा आत्मीयतता सद्भानव सहिष्णुता बढ्छ। प्रेम गर्नेहरू घर परिवारसँग लुकाएर घर परिवारले दिएको स्वतन्त्रतालाई गलत रूपमा प्रयोग गरेकै कारण प्रेम दिवसको कै कारण कयौँ युवायुवतीहरू जीवनकै कहालीलाग्दो पल भोग्न पनि विवश छन्। यसर्थ सबै युवायुवतीहरूले प्रेम दिवसको नाममा परिवारले दिएको स्वतन्त्रता र विश्वासलाई मर्न नदिऊँ र आफ्नो स्वार्थरहित प्रेमलाइ पनि बचाऔँ। तर आजभोलि पश्चिमा शैलीको अनुकरण बढ्दै गएको देखिन्छ । युवायुवतीहरू विभिन्न पार्कहरूका झाडीमा जाने र उस्तै परे ब्लेड चक्कुले शरीरको कुनै भागमा मुटु आकारको पानको पात जस्तै चित्र रेखाङ्कित पनि गरेको देखिन्छ । यो एक विकृति हो।

प्रेमी–प्रेमिकाबिच मात्र प्रेम दिवसलाई नलिएर आफूलाई माया गर्ने सबै घर परिवार साथीभाई, इष्टमित्र सबैसँग प्रेम साटौँ, प्रेम दिवस मनाउने हुने थुप्रै जोडीहरू र प्रणय दिवसलाई सकारात्मक रूपमा लिनुहुने सबैमा भ्यालेन्टाइन डे (प्रणय दिवस) प्रेम दिवसको शुभकामना। साथै आजकै दिन वसन्त पञ्चमी संयोग अर्थात् सरस्वती पूजा पनि परेकोकोले सरस्वती माताले हामी सबैलाई सत्बुद्धि प्रदान गरून्। प्रणय दिवस र सरस्वती पूजाको शुभकामना छ सबैमा ।

मान सिंह धामी (भौनबाटी)
उप–प्राध्यापक
कैलाली बहुमुखी क्याम्पस, धनगढी
स्थायी ठेगाना :
मालिकार्जुन गाउँपालिका हुनैनाथ – ४ गोठ्युडी (कोटबुङ्गा), दार्चुला

clock बुधबार ०२, फागुन २०८० ०६:४१

प्रतिक्रिया