देशभरि चिनिनु छैन धनगढीले चिने पुग्छ : गोपाल हमाल

  बुधबार ११, पुष २०८० ०९:३८

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले आफ्नो पहिलो प्राथमिकता नै धनगढीलाई समृद्ध बनाउनु रहेको बताउनुभएको छ । उहाँले जनताको आवश्यकताका आधारमा क्रमशः विकासका योजना अगाडि बढाउँदै लगेको बताउनुभयो । राष्ट्रिय राजनीतिमा आउनेभन्दा पनि आफ्नो कार्यकालमा धनगढीलाई नमुना बनाउनु रहेको उहाँको भनाइ थियो । प्रस्तुत छ, मेयर गोपाल हमालको कार्यकालमा केन्द्रित रहेर गरेको कुराकानीको सम्पादित अंश स्(

अहिले केमा व्यस्त हुनुहुन्छ ?
अहिले प्रायः उपमहानगरपालिकाको काममा व्यस्त हुन्छु । धनगढीलाई समृद्ध र राम्रो बनाउने योजनाअनुसार काम गर्नमै दिन बित्ने गरेको छ ।

समय व्यवस्थापन कसरी गरिरहनुभएको छ ?
जब मेयरमा निर्वाचित भएँ त्यसपछि व्यवसाय, घरको काम सबै त्यागेर अहिले बिहानदेखि साँझसम्म पूर्णकालीन रूपमा उपमहानगरपालिकाको काममा र जनताको सेवामा व्यस्त छु ।

तपाईं आफैंले बनाएका योजनाअनुसार काम गर्न सक्नुभयो कि भएन ?
योजना बनाउनु र स्रोत-साधनको तालमेल महत्वपूर्ण कुरा हुन्छ । हामीसँग योजना ठूला होलान् । साधन र स्रोत भएन भने योजना बनाएरमात्र हुँदैन । तर, हामीसँग जे-जति स्रोतसाधन थियो त्यसको अधिकतम् प्रयोग गरेर जति थिए ती योजनालाई सम्पन्न गर्ने प्रयास गरेका छौँ । सोहीअनुसार काम भएको छ ।

तपाईं मेयर हुनुभन्दा अगाडि धनगढीका मतदातासँग गरेका वाचामा यतिबेला आफूलाई कहाँनेर पाउनुहुन्छ ?
एउटा काम सकियो भने फेरि अर्को नयाँ काम सुरु भइहाल्छ । पहिलो वर्ष हामीले स्वास्थ्य र भौतिक पूर्वाधारतर्फ सडक तोड्ने, नाला खोल्ने कामहरू गरेका छौँ । यो वर्ष विशेषगरी शिक्षामा सुधार ल्याउने गरी काम गरिरहेका छौँ । अर्को वर्ष अर्को विषयलाई समात्ने योजनामा छौँ । चरणबद्धरूपमा काम गर्ने लक्ष्य छ । क्रमिकरूपमा पाँच वर्षमा मुख्य पाँचवटा र बाँकी सहायक कामलाई अगाडि बढाउँछौँ । कार्यकाल सकिन अझै तीन वर्ष बाँकी रहेकाले अहिले नै मूल्यांकन गरिहाल्न मिल्दैन । हामीले क्रमशः जनताका आवश्यकता पूरा गर्दै लगिरहेका छौँ ।

धनगढी उपमहानगरपालिकाका समस्याहरू के-के हुन् ?
धनगढीमा समस्याभन्दा पनि अवसरहरू धेरै छन् । फोहोरमैलाको अवस्था र वातावरणको स्थिति बिग्रिसकेको अवस्था छैन । शहरीकरण व्यवस्थापन गर्नै नसकिने गरी बिग्रिसकेको अवस्था छैन । त्यसकारण हामी त्यसलाई दीर्घकालीनरूपमा सकारात्मक प्रभाव पार्ने खालका नीतिगत निर्णय गरी कार्यान्वयन गरेर अगाडि बढिरहेका छौँ । केही वर्षपहिला धनगढीका बजारमा जताततै फोहोर हुन्थ्यो अहिले सफा गर्ने प्रयास सुरु गरेका छौँ । अहिले बजार, टोल र सार्वजनिक स्थल सरसफाइ गर्न विद्यालयस्तरबाटै जनचेतना फैलाउने काम सुरु गरेका छौँ । धनगढीमा उत्पादन हुने फोहोरलाई फोेहोरका रूपमा नहेरी दुई महिनादेखि मोहोरका रूपमा परिणत गरेका छौँ । धनगढीलाई सुन्दर बनाउन पर्यावरणका क्षेत्रमा वृक्षारोपण गरेका छौँ भने सौन्दर्यकरणका रूपामा समेत काम गरिरहेका छौँ । धनगढी बिग्रिसकेको अवस्था नभएको र तीव्रगतिमा शहरीकरण भइरहेको शहर भएकाले अहिले नै व्यवस्थित गर्नतिर लागे नमुना धनगढी बन्नेछ र हामी त्यसैमा लागेका छौँ ।

तपाईंले आफ्नो कार्यकालमा थालनी गरेकामध्ये कुनै महत्वपूर्ण कामबारे भन्नुपर्दा के-के लिनुहुन्छ ?
सबैभन्दा महत्वपूर्ण ग्रामीण भेगका अति विपन्न वर्गको स्वास्थ्यको समस्या थियो । त्यो समाधानका लागि सञ्चालन गरिएको विशेषज्ञ वडा क्लिनिक सेवामार्फत् ग्रामीण भेगका जनताले नियमितरूपमा औषधि उपचार, प्रयोगशाला परीक्षण, विशेषगरी गर्भवती महिलाले अल्ट्रासाउण्ड र औषधि निःशुल्क पाइरहनुभएको छ । फिजिसियन र स्त्रीरोगको मात्र नभएर आँखा, हाडजोर्नी, मानसिक रोगको चेकजाँच पनि नियमित भइरहेकाले ग्रामीण भेगका विपन्न परिवारको विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचले स्वास्थ्य सुधार र ठूलो रकम बचत भएको छ । यो काम स्वास्थ्य क्षेत्रमा नेपालमै कतै भएको छैन । यो नमुना हो भन्ने हाम्रो दाबी छ । काम नगर्ने कर्मचारीले हाजिर गर्न पाउँदैन । कार्यसम्पादन समयमै नभए, सेवाग्राहीलाई अनावश्यक दुःख दिएको छ भने गुनासो टिपोटका लागि नम्बर दिएका छौँ । अहिलेसम्म कसैले दुःख दियो भन्ने कुराको गुनासो आएको छ भने भन्नुस् ¤ यहाँ गौशालाको समस्याले सडकमा छाडा वस्तुभाउ देखिने, बाली खाइदिएको जनगुनासो आउने थियो । हामी आउनेबित्तिकै पुरानो गौशाला व्यवस्थित गर्नुका साथै फूलबारीमा नयाँ गौशाला निर्माण गरेका छौँ । सामुदायिक पशुलाई गौशालामा राखेर नियमित दाना दिने, पानीको व्यवस्था गरेका छौँ । जंगलमा चराउने, स्वास्थ्य परीक्षण गर्ने काम भइरहेको छ । हामीले खोलानाला, तालतलैया, सार्वजनिक जग्गामा गरिएको अतिक्रमण हटाउने लक्ष्य लिएर काम गरिरहेका छौँ । यो पाँचै वर्षसम्म चल्छ भनेका छौँ । अहिले २, ३ र ४ नम्बर वडामा विशेष ध्यान दिएका छौँ । त्यसको कारण के हो भने गत वर्ष त्यहाँ धेरै ठूलो डुबान भएको थियो । त्यहाँ २ नम्बर वडाले ३ नम्बरको पानी आउन नदिएपछि एउटा खोला थुनियो । गोली चलाउनुपर्ने अवस्था आयो । यदि त्यहाँ पानीको निकास भएन भने विद्युत्को सबस्टेसन जोखिममा पर्छ । त्यो डुब्यो भने धनगढीमा चार महिना बत्ती हुँदैन भनेर अन्य ठाउँको काम स्थगित गरेर यी तीनवटा वडामा केन्द्रित भएका छौँ । हाम्रो प्रयास के छ भने आगामी बर्खामा पानीको निकास राम्रोसँग भएर डुबान नहोस् । प्राकृतिक निकासहरू निकाल्ने काम जारी छ ।

स्थानीय चुनावबाट आएका तीन मेयर काठमाडौंका बालेन साह, धरानका हर्क साम्पाङ र यहाँको सुरुवाती निकै चर्चा थियो । बालेन र हर्कको चर्चा एवं परिचर्चा बेला(बेला अहिले पनि आइरहेकै हुन्छ तर यहाँको चर्चा खासै भएको पाइँदैन नि ?
नेपालका तीन स्वतन्त्र भनेका देश चलाउँछु, पार्टीका विरुद्ध उभिन्छु र देश बनाउँछु भनेर आएका हुन् । अरू धेरै चर्चामा आउनु राष्ट्रिय राजनीतिमा आउन होला, मेरो त्यो चाहना छैन । मेरो आफ्नो नगर धनगढी बनाउँछु भन्ने चाहना हो, त्यसैले मलाई देशभरिभन्दा धनगढीका जनताले चिने पुग्छ । मैले कुनै राजनीतिमा आउने चाहना राखेको छैन, आउनेवाला पनि छैन । मेरो एउटै लक्ष्य छ धनगढी बनाउनु र त्यसैमा लागेको छु । मैले आफ्नो धेरै चर्चा गर्नुभन्दा पनि धनगढीको विकासमा लागेको छु र हामीले गरेका कामका बारेमा जानकारी नागरिकलाई गराउन सामाजिक सञ्जाल प्रयोग गर्ने गरेका छौँ । उहाँहरू राष्ट्रिय राजनीतिमा जाने भएर सबैले चिन्न जरुरी छ तर गोपाल हमाललाई धनगढीले चिने पुगिहाल्छ ।

अन्त्यमा, आफूले आफैंलाई मूल्यांकन गर्दा ?
म सन्तुष्ट छु । धनगढीमा विकासका कामहरू गर्दा जुन नागरिकबाट सहयोग पाइरहेको छु, त्यो एकदमै सकारात्मक कुरा छ । एउटा मेयरले योजना बनाएर कामका लागि आफ्नो टिमलाई सँगै लिएर हिँड्ने हो त्यसमा जनताले पनि साथ दिनु भनेको आफैंमा सफल मानिन्छ । धनगढीको मुख्य बजार क्षेत्रमा सडक चौडा बनाउँदा सडक क्षेत्रमा परेका ४०० सय घर भत्काउँदा होस् या प्लाष्टिक बन्द गर्दा सबै ठाउँमा नागरिकले सहयोग गरेका छन् । यसरी नागरिकस्तरबाट सहयोग पाउँदा काम गर्नसमेत हौसला हुने गरेको छ । धनगढी उपमहानगरपालिकाले धनगढीकै लागि गरेका अभियानमा अपवादबाहेक सबैबाट समर्थन प्राप्त भएको छ, यसैमा हामी सन्तुष्ट छौँ ।

clock बुधबार ११, पुष २०८० ०९:३८

प्रतिक्रिया