आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

  शुक्रबार १७, कार्तिक २०८० ०९:११

काठमाडौं । आज  र भोलि सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दैछ। 

स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार दुई दिने अभियानमा ६ देखि ५९ महिनाका करिब ३२ लाख बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ। यसैगरी १ देखि ५ वर्षसम्मका २९ लाख भन्दा बढी बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने छ।

सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आएपनि यस वर्ष दशैं परेका कारण पहिलो चरणको कार्यक्रम कात्तिक १७ र १८ गते तय गरिएको हो।

महाशाखा प्रमुख डा। विवेकलाल कर्णका अनुसार आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सकिन्छ।

 सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम र जुकाको औषधि  २०५६ बाट खुवाउन थालिएको हो। यो कार्यक्रममा देशभरिका  स्वास्थ्य स्वयंसेविका र  स्वास्थ्यकर्मीलाई परिचालन गरिने छ।

clock शुक्रबार १७, कार्तिक २०८० ०९:११

प्रतिक्रिया