धनगढीको केजी हस्पिटलमा एनेस्थेसियोलोजिस्ट बीनै गरिन्छ शल्यक्रिया

  बिहिबार ११, असोज २०८० ११:५२

धनगढी । धनगढीको केजी हस्पिटलले एनिस्थेसियोलोजिस्ट बीनै बिरामीको शल्यक्रिया गर्ने गरेको पाइएको छ। शल्यक्रिया गर्दा बिरामीलाई बेहोस पार्न एनेस्थेसियोलोजिस्ट आवश्यक पर्ने भए पनि अस्पतालले टेक्निसियनबाटै काम चलाउने गरेको हो।

धनगढी उपमहानगरले प्रदान गरेको आसयपत्रका आधारमा चलेको १५ शय्याको केजी अस्पतालमा हाडजोर्नी, सुत्केरी र अन्य जटिल खालका शल्यक्रिया हुने गरे पनि बेहोस पार्ने चिकित्सक भने अस्पतालमा छैनन्। अस्पतालमा ल्याप्रोस्कोपी सर्जन डाक्टर दीपक सिंह र स्त्री तथा प्रसूति रोग चिकित्सक डाक्टर सोनी कठायतले बिरामीको शल्यक्रिया गर्ने गरेका छन्। तर, अस्पतालले शल्यक्रियाका लागि बिरामीलाई तयार पार्ने विशेषज्ञ चिकित्सक नियुक्त नगरेर टेक्निसियनबाट बेहोस पार्ने गरेको स्रोतको दाबी छ।

बेहोस पार्ने विशेषज्ञ चिकित्सक बीना अस्पतालमा असोज ६ गते एक गर्भवती महिलाको शल्यक्रिया गरिँदा ती महिलाको पाठेघर झिकेर फाल्नु परेको समाचार स्रोतको दाबी छ। असोज ६ गते शनिवार शल्यक्रिया गरेर बालक जन्माएकी धनगढी–३ नवदुर्गाटोल बस्ने २६ वर्षीया नर्जिस खातुनको अस्पतालले पाठेघर झिकेको हो।

महिलाका श्रीमान् मोतिर हमानले शल्यक्रिया गरेर शिशु जन्माएपछि अत्यधिक रक्तस्राव भएको भन्दै पाठेघर झिकिएको बताए। धनुषाको मुखियापट्टी मसुहरनिया गाउँपालिका वडा नम्बर ४ स्थायी बसोबास भएका मोतिर हमानले शनिवार दिउँसो ३ः३० बजे श्रीमतीको शल्यक्रिया गरिएको बताए। त्यसपछि अस्पतालले अत्यधिक रक्तस्राव भएको भन्दै पाठेघर झिकिएको उनले बताए। पाठेघर झिक्नुपर्ने भनेपछि आमाको ज्यान बचाउन सहमति दिएको मोतिरहमानले बताए।

बच्चा जन्मेको पाँच घण्टासम्म श्रीमतीको अवस्थामा नबताएकाले सुरुमा डाक्टरसँग विवाद भए पनि पछि पाठेघर झिक्न सहमति दिएका थिए। अस्पतालमा एनेस्थेसियोलोजिस्ट छन् कि छैनन् भनेर अस्पतालका निर्देशक डाक्टर दीपक सिंहसँग कुरा गर्दा उनले ‘जे मन लाग्यो त्यही लेख्नुहुन्छ’ भनेर थप कुराकानी नगरी फोन काटे।

clock बिहिबार ११, असोज २०८० ११:५२

प्रतिक्रिया