कैलाली र कञ्चनपुरका घर–घरमा फैलियो आँखाको संक्रमण, अब कसरी जोगिने ?

  शनिबार १३, साउन २०८० १३:०४

धनगढी । सुदूरपश्चिम प्रदेशका तराईका जिल्ला कैलाली र कञ्चनपुरमा आँखा सम्बन्धी समस्या गराउने कन्जक्टिभाइटिस भाइरलको संक्रमण फैलिएको छ । पछिल्लो केही दिनयता दुवै जिल्लामा कन्जक्टिभाइटिस भाइरलको संक्रमण फैलिएपछि आँखा अस्पताल तथा उपचार केन्द्रमा आँखा सम्बन्धी समस्या लिएर आउने बिरामीहरुको भीड बढेको छ ।

गेटा आँखा अस्पतालका प्रमुख डाक्टर सुरेशराज पन्तले कैलाली र कञ्चनपुरमा पछिल्लो समय देखिएको आँखा पाक्ने समस्या कन्जक्टिभाइटिस भाइरलको संक्रमणका कारण भएको बताए । गेटा आँखा अस्पतालसहित कैलालीको धनगढी, टीकापुर, कञ्चनपुरको महेन्द्रनगर, बेलौरी दोधाराचाँदनी लगायतका स्थानमा रहेका आँखा उपचार केन्द्रमा कन्जक्टिभाइटिस भाइरलका समस्या लिएर आउने बिरामीको चाप बढेको पन्तले बताए ।

‘अहिले मानिसहरुमा आँखा रातो हुुने, चिलाउने, बिझाउने, परेली सुनिने, आँसु आउने, कसै कसैलाई चिप्रा आउने जस्ता समस्या देखा परेका छन् । यो कन्जक्टिभाइटिस भाइरलका कारणले भएको हो,’ पन्तले भने, ‘गेटा आँखा अस्पताल, कैलाली र कञ्चनपुरमा रहेका उपचार केन्द्रहरुमा दैनिक यी समस्या भएका बिरामीहरु  आइरहनुभएको छ । ओपीडीमा चेकजाँच गर्ने मध्ये ५० प्रतिशत बिरामी कन्जक्टिभाइटिस भाइरलसँग सम्बन्धित समस्या भएका छन् ।’

उनकाअनुसार गेटा आँखा अस्पतालमा मात्र दैनिक १०० जना बिरामी कन्जक्टिभाइटिस भाइरलका आइरहेका छन् । यो सामान्य किसिमको भाइरल भएकाले एकदेखि डेढ हप्तासम्म आफै निको हुने बताउदै डाक्टर पन्तले कुनै व्यक्तिमा समस्याका रुपमा देखिन सक्ने भएकाले सचेत रहन आग्रह गरेका छन् । उनले भाइरलको संक्रमण भएको समसयमा ब्याक्टेरियल इन्फेक्सन हुने जोखिम हुने भएकाले आँखा चेकजाँच गराएर एन्टिबायटिक औषधी खान सुझाव दिएका छन् ।

‘यो दीर्घकालीन असर गर्ने खालको नभएर सामान्य किसिमको भाइरल हो । एकदेखि डेढ हप्तासम्म निको हुन्छ । औषधी जरुरी छैन, तर कहिलेकही यो सँगै ब्याकटेरियल इन्फेक्सन हुनसक्छ,’ पन्तले भने, ‘त्यो नहोस् भनेर एन्टिबायटिक औषधीको प्रयोग गर्नुपर्छ । कसैलाई निको भएपछि कर्नीयामा असर गरेमा सेतो दाग देखिन सक्छ त्यो भए नेत्र विशेषज्ञलाई देखाएर उपचार गराउनुपर्ने हुन्छ ।’ यो भाइरल एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै फैलिने डाक्टर बताउँछन् ।

clock शनिबार १३, साउन २०८० १३:०४

प्रतिक्रिया