टीकापुरमा शीतभण्डार सञ्चालनमा ढिलाइ

  मङ्गलबार १६, मङि्सर २०८२ ०७:४८

टीकापुर । प्राविधिक लगत तयार गर्दा आवश्यक काम छुटेपछि टीकापुरमा बनेको शीत भण्डार सञ्चालनमा आउन ढिलाइ भएको छ । हिउँदबाट प्रयोगमा ल्याउने भनिए पनि काम ढिला भएपछि असार मसान्तसम्म सर्ने बताइएको छ ।  

सात करोड ३९ लाख रुपियाँको लागतमा ५४६ बर्गमिटरमा बनेको चार तले शीतभण्डार एक हजार मेट्रिक टन क्षमताको छ । यसभित्र एउटा आलुको लागि र अर्को फलफूल तरकारीका लागि भनेर दुईवटा च्याम्बर तयार भएका छन् । करिब ६० लाख रुपियाँ  लगानीमा घेरा पर्खाल पनि बन्न लागेको छ ।

२०८१ पुसमा सकिनेगरी सम्झौता भए पनि डिजाइन परिवर्तन लगायतका समस्याले छ महिना थप गरिएको थियो । ‘सम्झौताअनुसारको काम भइसके पनि छुटेका काम गर्न उपभोक्ताको तर्फबाट लागत जुटेको छैन’ रानीजमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख भरत कँडेलले भने।

उनले थपे, ‘विद्युत लाइन जडान, काठ र पर्खालको केही काम बाँकी रहेको छ, त्यसमा एक करोड २५ लाख रुपियाँ जति लाग्ने र त्यसमध्ये उपभोक्ताले व्यहोर्नु पर्ने २५ प्रतिशत रकम सुनिश्चित भएपछि खरिद प्रक्रिया सुरु गर्न तयार भएर बसेका छौं ।’  

शीतभण्डार विश्व बैंकको ऋणबाट नेपाल सरकारको ७५ प्रतिशत अनुदान र स्थानीय किसान उपभोक्ताको २५ प्रतिशत लगानीमा निर्माण भएको हो । 

पहिलो चरणमा कूल लागतको २५ प्रतिशत ९एक करोड ४१ लाख० रकम किसानको भागमा परेको थियो । यसमध्ये चार हजार छसय किसानले ७४ लाख रुपियाँ बराबरको शेयर लिएका छन् । अपुग भएको ६७ लाख रुपियाँ टीकापुर नगरपालिकाले व्यहोरेको छ । 

शेयर खुला

दोस्रो चरणको एक करोड २० लाखको निर्माणको २५ प्रतिशतले हुन आउने ३० लाख रुपियाँ र सञ्चालनका लागि आवश्यक पर्ने अनुमानित एक करोड रुपियाँको शेयर खोलिएको छ ।

शेयरबाट रकम अपुग भएमा टीकापुर वाहेकका कमाण्ड क्षेत्रका अन्य पालिकासँग सहयोग मागिने रानीजमरा कुलरिया सिँचाइ प्रणाली जल उपभोक्ता संस्थाका सचिव परशुराम महतोले बताए ।  

टीकापुर शीतभण्डार गृहको सञ्चालन कार्यविधि २०८० अनुसार यसको अधिकृत शेयर पूँजी दुई करोड राखिएको छ ।

पहिले रानीजमराको कमाण्ड क्षेत्र टीकापुर, जानकी, भजनी नगरपालिका मात्र थियो, अब लम्कीचुहा, जोशीपुर, बर्दगोरिया घोडाघोडी नगरपालिका पनि थपिएकाले त्यहाँका किसानहरु शेयर सदस्य बन्न पाउने भएकाले शेयर पूँजी जुटाउन सकिने महतोको भनाइ छ ।

clock मङ्गलबार १६, मङि्सर २०८२ ०७:४८

प्रतिक्रिया