धनगढी उपमहानगरको टोली दिल्लीका बिद्यालयमा अवलोकन गर्दै

  शुक्रबार १९, जेठ २०८० १४:२४

धनगढी । धनगढी उपमहानगरपालिकाको शिक्षा शाखाका कर्मचारी, विभिन्न विद्यालयका प्रधानाध्यापक, कार्यपालिका र शिक्षा समितिका सदस्यहरूसहितको टोली विद्यालय अवलोकनका लागि भारतको राजधानी नयाँदिल्ली आइपुगेको छ । टोलीले पहिलो दिन यहाँका तीनवटा सामुदायिक विद्यालयको अवलोकन गरेको छ ।

टोलीले सहिद हेमु कालाणी सर्वोदय बालविद्यालय, सोही विद्यालयभित्र छुट्टै सञ्चालन भइरहेको दिल्ली मोडल भर्चुअल स्कुल र गभर्मेन्ट ब्वाइज एसआर सेकेन्डरी स्कुलको अवलोकन गरेको छ। अवलोकन टोलीले यी विद्यालयमा भौतिक पूर्वाधारको अवस्था, शिक्षण सिकाइ क्रियाकलाप, व्यवस्थापनलगायत विषयमा प्रधानाध्यापक र शिक्षकहरूसँग छलफलसमेत गरेको छ ।

भारतको राजधानी दिल्लीमा अरबिन्द केजरीवालको सरकार आएपछि दशकयता सामुदायिक विद्यालयको शैक्षिक अवस्थामा आमूल परिवर्तन भएको छ । दिल्लीको शैक्षिक सुधार केजरीवाल मोडेलका रूपमा चर्चित छ । कक्षाकोठाको व्यवस्थापन, फर्निचर, स्मार्टबोर्ड, प्रयोगशाला, पुस्तकालय, स्विमिङपुल, खेलकुद सुविधा आदिले यहाँका विद्यालय सुसज्जित छन् । ट्याब, ल्यापटपसहित शैक्षिक सामग्री सरकारले उपलब्ध गराउँछ र निजी विद्यालयजत्तिकै सुविधा र गुणस्तर भएका सरकारी विद्यालयमा शिक्षा पूर्ण रूरुपमा निस्शुल्क छ ।

धनगढी उपमहानगरको शैक्षिक सुधारमा सहयोग पुगोस् भनेर नगरभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक र शिक्षकलाई दिल्लीका विद्यालयको अवलोकनको व्यवस्था गरिएको उपमहानगरको शिक्षा महाशाखा उपसचिव प्रमुख नरेन्द्रबहादुर खातीले बताए । ‘यहाँको सिकाइबाट हाम्रा विद्यालयको शैक्षिक अवस्था सुधारमा मद्दत पुगोस् भन्ने उद्देश्यले हामी दिल्लीका विद्यालय अवलोकनमा आएका हौँ,’ महाशाखा प्रमुख खातीले भने, ‘उपमहानगरले नगरभित्रको समग्र शैक्षिक सुधारलाई प्राथमिकता दिएर काम गरिरहेको छ ।’

धनगढी उपमहानगरका उपप्रमुख कन्दकलाकुमारी रानाको नेतृत्वमा गएको अवलोकन भ्रमण टोलीमा विभिन्न विद्यालयका प्रधानाध्यापकसहित ३५ जना सहभागी छन् । अवलोकन टोलीमा सहभागी शिक्षकले दिल्लीका विद्यालय भ्रमणका क्रममा भएको सिकाइलाई व्यवहारमा लागू गरेर विद्यालय सुधारको प्रयास गरिने प्रतिबद्धता जनाएका छन् ।

clock शुक्रबार १९, जेठ २०८० १४:२४

प्रतिक्रिया