शिव शिखर सहकारीका ७३७ बचतकर्ताले प्रहरीमा बुझाए कागजात

  बिहिबार ०४, जेठ २०८० १०:२२

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थामा रकम जम्मा गरेका बचतकर्ता सम्बन्धित कागजातसहित जिल्ला प्रहरी कार्यालय पुगेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सहकारीमा ठगी, रकम फिर्ता नभएको, रकम हिनामिना लगायतको विषयमा जाहेरी दरखास्त पेश गर्न बचतकर्तालाई सार्वजनिक रूपमै आह्वान गरेपछि उनीहरू जिल्ला प्रहरी कार्यालय पुगेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले मंगलवार र बुधवार गरी ७३७ बचतकर्ताले प्रहरीमा सम्बन्धित कागजात बुझाएको जानकारी दिए ।

‘यो सहकारीका विषयमा केन्द्रीय अनुसन्धान ब्युरोले पनि छानबिन गर्दैछ,’ उनले भने, ‘कञ्चनपुरमा पनि प्रहरीले जाहेरी लिएर अनुसन्धान अघि बढाउने भएकाले कागजात विवरण पेश गर्न भनेका हौं ।’

जिल्ला प्रहरी कार्यालयको मूल गेटमा कागजात बुझाउने बचतकर्ताको बुधवारदेखि भीडभाड छ । प्रहरीका अनुसार सहकारीले महेन्द्रनगर शाखाबाट मात्रै २६ करोड रुपैयाँ निक्षेप संकलन गरेको देखिएको छ ।

गत माघयता सहकारी सञ्चालक सम्र्पक बाहिर रहेका छन् । सहकारीले यहाँ सञ्चालन गरेको मार्ट समेत कर्मचारीले बन्द गरेका छन् ।

‘यहाँ मार्टबाहेक अन्य घर जग्गा कारोबारमा लगानी भएको पनि देखिएन,’ एसपी थापाले भने, ‘अब कागजात जम्मा पारेर सहकारी ठगीमा मुद्दा दायर गरेर अनुसन्धान अगाडि बढाउँछौं ।’

प्रहरीमा बचतकर्ताले फेसबूक, रकम जम्मा गरेका कागजात र नागरिकताको प्रतिलिपि लगायतका कागजात पेश गरिरहेका छन् । यहाँ गत माघको तेस्रो हप्ता लगानी डुब्ने चिन्ताले बचत रकम फिर्ता माग्दै बचतकर्ता आन्दोलित भएका थिए ।

संस्थामा दैनिक बचत, फिक्स बचतकर्तादेखि ठूलो रकम शेयर लगानी गरेका ग्राहकले आफ्नो लगानी डुब्न लागेको भन्दै रकम फिर्ता माग्न पहल गरिदिन आग्रह गर्दै आएका छन् ।

clock बिहिबार ०४, जेठ २०८० १०:२२

प्रतिक्रिया