‘हाम्रो धनगढी, सफा धनगढी’ अभियान  जनसहभागिता बढ्दो

  मङ्गलबार २५, बैशाख २०८१ १५:२६

धनगढी । ‘हाम्रो धनगढी, सफा धनगढी’ अभियान दिनप्रतिदिन विस्तार भइरहेको छ । गत कार्तिक महिनादेखि सुरु भएको सफा धनगढी अभियानमा हरेक दिन जनसहभागिता बढिरहेको छ । 

उपमहानगरपालिका प्रमुख गोपाल हमाल, उपप्रमुख कन्दकला राना, वडाध्यक्ष तथा सदस्यहरू स्वयंम नै प्रत्येक विद्यालय र समुदायमा पुगेर नागरिकलाई सरसफाईका लागि प्रेरित गर्दै आएका छन् । उपमहानगरपालिकाका अनुसार पछिल्ला ६ महिनामा नगरका करिब २२ हजार जना अभियानमा सहभागी बनेका छन् ।

कात्तिकदेखि सुरु भएको सो अभियानमा २२ हजारले सहभागिता जनाएका हुन् । अभियान अन्तर्गत हरेक वडामा साप्ताहिक रुपमा सरसफाइ कार्यक्रम सञ्चालन हुने गरेको छ । नगर प्रमुख, उपप्रमुख, सम्बन्धित वडाका अध्यक्ष तथा सदस्यहरू वडाबासीहरूलाई फोहरमैलाको वर्गीकरण गर्ने लगायतका विषयमा सिकाउने गरिरहेका छन् । 

 

सरसफाई सहजकर्ता सुरेन्द्र शाहले विद्यालय र टोलवस्तीमा सघन रुपमा सरसफाई अभियान सञ्चालन भइरहेको बताए । उनले भने– हरेक महिना प्रत्येक वडामा सरसफाइ सप्ताह सञ्चालन भइरहेको छ । उनले “हाम्रो धनगढी, सफा धनगढी” अभियान अन्तर्गत प्रत्येक वडामा वडा र टोल समिति समेत गठन गरिएको जानकारी दिए । 

‘हाम्रो धनगढी, सफा धनगढी’ अभियान गत वर्ष कात्र्तिक १० गतेबाट सुरू भएको हो । सुरु भएदेखि अहिलेसम्म विद्यालय र समुदायमा ५०८ पटक सरसफाइ कार्यक्रम र अभिमुखीकरण कार्यक्रम भएको उपमहानगरपालिकाको सामाजिक विकास शाखाले जनाएको छ । 

अहिलेसम्म नगरमा रहेका निजि विद्यालयमा ११३ पटक सरसफाइ र अभिमुखीकरण कार्यक्रम भइसकेका छन् । ६४ पटक सामुदायिक विद्यालयमो कार्यक्रम भएका छन् । 

उपमहागरपालिकाका अनुसार बैशाख २२ गतेसम्म २२ हजार ४८० जना सरसफाई अभियानमा सहभागी भइसकेका छन् ।  सहजकर्ता शाहले भने– अभियानमा हरेक वडाटोलमा बालबालिकादेखि बृद्धबृद्धाको उत्साहपूर्ण सहभागिता रहँदै आएको छ । 

धनगढी–१२ सिद्धार्थ टोलका ७३ वर्षीय प्रथनाम चौलागाईले सबैलाई सरसफाई अभियानमा जोडिन आह्वान गरे । उनले भने– यो हामी सबैको आफ्नो अभियान हो । सरसफाई मेरा लागि भन्ने भावनाका साथ सहभागी बन्न सबैमा आग्रह गर्दछु । 

प्रायः प्रत्येक विद्यालयमा अभियानको लागि पुग्ने गरेका नगर प्रमुख हमालले विद्यार्थीहरूलाई सजिलो भाषाशैलीमा उत्प्रेरित गरिरहेका छन् । उनी भन्छन्– विद्यालय उमेरका प्रत्येक बालबालिकालाई विद्यालय, परिवार र समुदायमा असल अभ्यास गर्न प्रेरित गर्नुपर्दछ । बालबालिका साच्चै नै सरसफाई अभियानका वास्तविक सहजकर्ताका रुपमा आउन सक्छन् । 

धनगढी–३, बोराडाँडीमा रहेको त्रिभूवन माविमा कक्षा ८ का विद्यार्थी भूपेश भट्टले आफूले घरमा पनि कुहिने र नकुहिने फोहोरको वर्गीकरण गर्न सिकाइरहेको छु । हामी सबै लाग्उौ भने हाम्रो धनगढी साच्चै नै सफा र सुन्दर बन्नेछ । 

उपमहानगरपालिकाको सरसफाई अभियानमा विभिन्न सामाजिक तथा व्यवसायिक संस्थाहरू समेत सहभागी बन्ने क्रम बढेको छ । कतिपय संस्थाले स्वयं नै पनि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेका छन् । साइमा ब्रिज कोर्ष, केजिएस्ट होटेल म्यानेजमेन्ट, केबी कोरियन भाषा इन्स्टिच्युट आदि शैक्षिक संस्थाहरूले सरसफाइ अभियान नै चलाएका छन् । साइमा ब्रिज कोर्षले त फोहर संकलन गर्ने प्रतियोगिता समेत गरिसकेको छ । 

“पछिल्ला महिनाहरूमा धनगढीका सार्वजनिक स्थान र सडकहरूमा फोहोरमैला कम भएको छ’ साइमा ब्रिज कोर्षकी छात्रा भविशा बमले भनिन्– यो अभियान साच्चै नै सफल हुँदैछ । 

सरसफाई अभियानका क्रममा अहिले नगरका सबै १९ वडामा वडा स्तरीय सरसफाइ समिति गठन भइसकेको छ । तीन सय बढी टोल समिति गठन भएका छन् । वडा तथा टोल समितिले हरेक महिना सरसफाइ सप्ताह सञ्चालन गरिरहेका छन् । 

अहिले दोस्रो चरणको सरसफाई अभियान सञ्चालनमा छ । सामाजिक परिचालकहरूले सरसफाइ कार्यक्रम र अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
 

clock मङ्गलबार २५, बैशाख २०८१ १५:२६

प्रतिक्रिया