कैलालीको धनगढीमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण सुरु

  मङ्गलबार २५, बैशाख २०८१ १०:१९

धनगढी । कैलालीको धनगढी सहरको फोहोरमैला व्यवस्थापनका लागि ‘एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र’ को निर्माण सुरु गरिएको छ । सरकारले धनगढी उपमहानगरपालिका–७ स्थित पटेला सामुदायिक वन क्षेत्रको २९ हेक्टर जमिन उपलब्ध गराएपछि फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण थालिएको हो । 

नेपाल सरकारबाट जग्गाको भोगाधिकार मिलेपछि रुख कटानको काम सुरु गरिसकेको धनगढी उपमहानगरपालिकाको कार्यालयले जनाएको छ । यसअघि धनगढी उपमहानगरपालिका–२ स्थित मोहना नदी आसपास क्षेत्रमा फोहोरमैला व्यवस्थापन केन्द्र बनाउने निर्णय भएपछि स्थानीयले विरोध जनाएका थिए । 

विगत लामो समयसम्म अनिर्णीत बनेको व्यवस्थापन केन्द्र निर्माणका लागि उपमहानगरपालिकाले पटेलामा जग्गा हेरेको थियो । एसियाली विकास बैङ्कको ९९ करोड ऋण सहयोगमा फोहोरमैला व्यवस्थापन केन्द्र बन्ने जनाइएको छ । सन् २०२५ सम्म ल्यान्डफिल साइट निर्माणको समयावधि रहेको छ । 

एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र बनेपछि धनगढी उपमहानगरपालिकाको फोहोर ५० वर्षसम्म व्यवस्थापनका लागि सहज हुने नगर प्रमुख गोपाल हमालले बताए । “यो ल्यान्डफिल साइट आधुनिक प्रविधिको प्रयोगसहिते  बन्ने छ,” उनले भने, “यसपछि फोहोरमैला व्यवस्थापनको समस्या ५० वर्षसम्मका लागि समाधान हुने छ ।”

उपमहानगरपालिकाले कुहिने र नकुहिने फोहोरमैला सङ्कलन गरेर त्यसलाई मोहरमा परिणत गर्ने कार्य पनि अघि सारेको छ । वडा नम्बर २ स्थित सूक्ष्म वर्गीकरण केन्द्रमा नकुहिने फोहोरलाई छुट्याएर बिक्री गरिँदै आएको छ । यसै गरी कुहिने फोहोरबाट खाना पकाउने ग्यास उत्पादन भइरहेको छ । 

एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र बनेमा धनगढी सहर सफा र हराभरा तथा प्रदूषणमुक्त बनाउन सहयोग पुग्ने नगर प्रमुख हमालले बताए । प्लास्टिक प्रयोगमा बन्देज लगाएको धनगढी उपमहानगरपालिकामा सफा, स्वच्छ र हराभरा बनाउन सरसफाइ र हरियाली प्रवर्धन अभियान सञ्चालन गरिँदै आएको छ ।  

clock मङ्गलबार २५, बैशाख २०८१ १०:१९

प्रतिक्रिया