चुरे गाउँपालिका अध्यक्ष बोगटीले दिए पार्टीको जिल्ला सदस्यबाट राजिनामा

  सोमबार २४, बैशाख २०८१ १७:१९

धनगढी। नेकपा एमालेका कैलाली जिल्ला सदस्य चक्रबहादुर बोगटीले पदबाट राजिनामा दिएका छन्। एमालेको गत फागुनमा सम्पन्न अधिवेशनबाट जिल्ला कमिटि सदस्य पदमा निर्वाचित भएका बोगटीले उक्त पदबाट राजिनामा दिएका हुन।

बोगटी कैलालीकै चुरे गाउँपालिका अध्यक्ष समेत छन् । उनी जिल्ला अधिवेशनमा डेजी पाण्डेयको प्यानलबाट चुनावमा होमिएका थिए । पार्टीको जिल्ला कमिटिमा गुटबन्दी बढी हुँदा आफुले पदबाट राजिनामा दिएको उनले बताए । 

उनले योग्यता र क्षमताको आधारमा जिम्मेवारी दिनुको साटो गुटबन्दी गरेर आफ्ना खल्तीका व्यक्तिहरुलाई जिम्मेवारी दिईदा आफुले राजिनामा दिनुपरेको दावी गरेका छन।

उनले जिल्ला कमिटिका अध्यक्षले अधिवेशनमा आफुलाई असहयोग गरेको भनेर जिम्मेवारी नदिएको आरोप लगाए । ‘जिल्लामा सचिवालय गठन हुन्छ, सचिवालयमा हिजोअस्ती बाहिरबाट आएकालाई राख्यो, हामी ४९ सालदेखी जिल्ला कमिटिमा भएका व्यक्तिलाई राखिएन’ उनले भने ‘अधिवेशनमा म फरक प्यानलबाट चुनाव लडेको हुनाले मलाई असहयोग गरेको भन्दै अध्यक्षले जिम्मेवारी दिनुभएन ।’ नेकपा एमालेको जिल्ला कमिटि अध्यक्षमा यज्ञ ढुंगाना निर्वाचित भएका थिए ।

clock सोमबार २४, बैशाख २०८१ १७:१९

प्रतिक्रिया