बाढी र डुबानको जोखिममा रहेको कैलालीको भजनीमा सुरक्षित आवास निर्माण शुरु

  बुधबार १९, बैशाख २०८१ १३:३८     रासस

कैलाली । बाढी र डुबानको जोखिममा रहेको कैलालीको भजनी नगरपालिका–३ को पकरियापुरमा सुरक्षित आवास निर्माण शुरु भएको छ । भजनी नगरपालिका, राष्ट्रिय दलित नेटवर्क (सुरक्षित आवास परियोजना) र स्थानीयको श्रमदानमा सुरक्षित आवास निर्माण हुन लागेको हो ।

वर्षौँदेखि बाढी र डुबानको पीडामा रहेका पकरियापुरका २५ परिवारलाई सुरक्षित राख्नका लागि घर निर्माण थालिएको नगरपालिकाका मेयर केवल चौधरीले बताए । उनले नगरपालिकाका धेरै क्षेत्र बर्सेनि बाढी र डुबानको चपेटामा पर्दै आएको बताउँदै बढी जोखिम भएको बस्तीलाई सुरक्षित बनाउन घर निर्माण कार्यक्रमलाई निरन्तरता दिइएको जानकारी दिए ।

बाढीका कारण महिनौँसम्म सडक र त्रिपालमा बस्नुपर्ने बाध्यता अब अन्त्य हुनेमा विश्वास रहेको स्थानीयले बताएका छन् । नगरपालिकाले गएको वर्ष वडा नम्बर –५ मा १६ वटा सुरक्षित आवास निर्माण गरेको थियो । बर्सेनि अन्य सङ्घ–संस्थाको साझेदारीमा नगरपालिकाले आवास निर्माणलाई निरन्तरता दिएको छ । पकरियापुरमा एउटा नमुना घरसहित २५ घर निर्माण भइरहेका छन् ।

७० लाख ५० हजार रुपैयाँ लागतमा निर्माण हुन लागेको ती घरका लागि नगरपालिकाको २४ लाख रुपैयाँको लगानी छ । त्यसमा राष्ट्रिय दलित नेटवर्कले २१ लाख लगानी गर्दा २५ लाख ३० हजार रुपैयाँ बराबरको स्थानीयको जनश्रमदानलाई जोडिएको छ । एउटा घरमा दुई कोठा र एउटा शौचालय निर्माण भइरहेको छ ।

clock बुधबार १९, बैशाख २०८१ १३:३८     रासस

प्रतिक्रिया