सुदूरपश्चिममा नयाँ शैक्षिक सत्रका लागि किताब वितरण सुरु

  मङ्गलबार १३, चैत २०८० १५:३२

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ शैक्षिक सत्रका लागि किताबको बिक्रि वितरण सुरु गरिएको छ । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले मंगलबारदेखि किताबको बिक्रि वितरण सुरु गरेको हो ।

केन्द्रका प्रमुख रामबहादुर कुँवरले हिमाली जिल्ला बाजुराबाट पुस्तकको बिक्रि वितरण थालिएको जानकारी दिए । उनकाअनुसार कार्यतालिका बनाएर केन्द्रमा सूचीकृत भएका व्यवसायीमार्फत सम्बन्धीत जिल्लामा पुस्तक बिक्रि वितरण गरिनेछ ।

प्रदेशका ९ वटै जिल्लामा १९ लाख १५ हजार १८५ थान पुस्तक बिक्रि, वितरण गर्ने लक्ष्य राखिएको कुँवरले बताए । जसमा सबैभन्दा धेरै कैलालीमा ६ लाख १४ हजार थान पुस्तक वितरण गरिनेछ ।

कञ्चनपुरमा दुई लाख ८९ हजार १५७, बैतडीमा एक लाख ७८ हजार ३६०, बझाङमा एक लाख ७७ हजार २१५, अछाममा एक लाख ६५ हजार ८३१, डोटीमा एक लाख ३७ हजार ६९२, बाजुरामा एक लाख २७ हजार ८०६, दार्चुलामा एक लाख २१ हजार र डडेल्धुरामा एक लाख ३ हजार ३१० थान पुस्तक वितरण गर्ने लक्ष्य कार्यालयले राखेको छ ।

विगतका वर्षमा समयमै पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पढाई प्रभावित हुने गरेको भएपनि यो वर्ष त्यस्तो अवस्था नआउने जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले जनाएको छ ।

clock मङ्गलबार १३, चैत २०८० १५:३२

प्रतिक्रिया