कञ्चनपुरको दोधारा चाँदनीमा विद्यालय भवन निर्माण गर्न १९ विदेशी श्रमदान गर्दै

  शुक्रबार ०९, चैत २०८० १५:३१

महेन्द्रनगर। कञ्चनपुरको दोधारा चाँदनीको सीमा बस्ती बडुवाल टोलमा सामुदायिक विद्यालयको भवन निमार्णका लागि विभिन्न देशका नागरिक श्रमदान गरिरहेका छन्। गैर सरकारी संस्था ‘विल्ड अन’को सहयोगमा दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलस्थित गणेश आधारभूत विद्यालयको तीन कोठे पक्की भवन र दुई कोठे शौचालय निर्माण गर्न विभिन्न मुलुकका नागरिक र स्थानीयवासी खटिएका हुन्।

विल्ड अन धनगढीका सहायक निर्देशक झरना बमले भनिने, ‘अमेरिका, बेलायत, स्वीट्जरल्याण्ड, आयरल्याण्ड, पोल्याण्ड र ग्रिक लगायतका देशबाट यहाँ श्रमदान गर्न आउनुभएको छ। उहाँहरूले आफै लगानी पनि गर्नुभएको छ। यसमा स्थानीयवासीको पनि सहभागिता रहेको छ।’उनले १९ विदेशी दाताहरूले स्वयम् संस्थामार्फत विद्यालय भवन निर्माण गर्न श्रमदान गरिरहेको बताइन।

जिल्लाको विकट बस्तीमा विदेशी नागरिकले श्रमदान गरेर विद्यालय भवन निर्माण थालेपछि यहाँका स्थानीयवासी हर्षित बनेका छन्। गणेश आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण वलीले विद्यालय भवन निर्माण गर्न विभिन्न मुलुकका नागरिक श्रमदानमा खटिएको बताए। १९ विदेशी नागरिकसँगै यहाँका स्थानीय पनि श्रमदान गरिराखेका छन्।

उाले भने ‘भवन निमार्णपछि यहाँका विद्यार्थीलाई धेरै सहज हुनेछ।”यसअघि भवन चुहिने हुँदा विद्यार्थीलाई पठनपाठनमा निकै समस्या हुने गरेको उनले बताए। ‘अहिले स्थानीय सरकारले पनि सहयोग गरिराखेको छ।’ वलीले भने, ‘सीमा बस्तीमा रहेको विद्यालयमा हालसम्म सुविधा सम्पन्न भवन निर्माण हुन सकेको छैन।

’विदेशी नागरिकसँगै यहाँका स्थानीयवासी पनि श्रमदानमा गर्न खटिएका छन। ‘यस्तो हामीले पहिलो पटक देखेका हौँ।’ स्थानीय सीतादेवी वादीले भनिन्, ‘विदेशीसँगै हामी पनि काम गरिरहेका छौँ रमाइलोसँगै खुसी भएका छौँ।’ उनले लामो समयदेखि विद्यालय जीर्ण अवस्थामा रहेको बताइन।

दोधारा चाँदनी नगरपालिकासँगको संयुक्त साझेदारीमा बन्ने विद्यालय भवनको निर्माण अवधि एक सय ६ दिन रहेको छ। भवन निर्माणका लागि अमेरिका, फ्रान्स, बेलायतलगायत मुलुकका १९ जना दोधारा चाँदनी पुगेका छन्। स्थानीय तहले निर्माण सामग्री उपलब्ध गराउने गरी सहकार्य गरेको छ। भवन निर्माण सम्पन्न भएपछि संस्थाले फर्निचरलगायत सामग्री उपलब्ध गराउने छ। भवन निमार्णपछि यहाँका विद्यार्थीलाई पठनपाठनमा सहज हुने अपेक्षा गरिएको छ।

clock शुक्रबार ०९, चैत २०८० १५:३१

प्रतिक्रिया