आफैले आगजनी गरेको अभियोगमा दार्चुलाको मार्माका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

  मङ्गलबार ०६, चैत २०८० १०:०२

दार्चुला । सरकारी निवासमा आफैले आगजनी गरेको अभियोगमा मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी पक्राउ परेका छन् ।

फागुन २४ गते राती दार्चुलाको मार्मा गाउँपालिका परिसरमा प्रमुख प्रशासकीय अधिकृतको निवासमा आगजनी र ढुंगामुढा प्रहारको घटना भएको थियो । सुरुमा अज्ञात समूहबाट गरिएको भनिए पनि प्रहरी अनुसन्धानबाट प्रमुख प्रशासकीय अधिकृत आफैले आगजनी गरेको खुलेको छ । 

चैत्र ४ गते प्रहरीले प्रमुख प्रशासकीय अधिकृत अधिकारीलाई पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । चैत्र ४ गते पक्राउपूर्जी थमाएर अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । भोलिपल्ट ५ गते जिल्ला अदालतमा उपस्थित गराइ ७ दिनको अनुसन्धान म्याद लिइएको प्रहरी निरीक्षक ज्ञानेन्द्रवहादुर सिंहले बताउनुभयो। 

प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी आफैले आगजनीको घटना गराएको निस्कर्षमा प्रहरी पुगेको छ । घटनाको भोलिपल्ट फागुन २५ गतेदेखि सदरमुकाम खलंगामा रहेका अधिकारी कर्मचारी आवाश भवनको पाहुना कोठामा बस्दैआएका थिए । प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा अधिकारीहरुले उनलाई कर्मचारी आवाशमा बसाल्दैआएका थिए । १० दिनदेखि सिडिओकै भान्साबाट खाना खाइरहेका अधिकारीलाई हिरासतमा राखेर थप अनुसन्धान गर्ने निस्कर्षमा प्रहरी पुगेको छ । 

घटनाको सुरुमा कुनै अज्ञान व्यक्ति वा समूहले प्रमुख प्रशासकीय अधिकृतलाई धम्काएको हुनसक्ने अनुमान प्रहरीको थियो । तर घटनाको गहिरो अध्ययन गरेपछि प्रमुख प्रशासकीय अधिकृत स्वयंले घटना गराएको तथ्य खुलेपछि प्रहरीको मुद्दाको प्रक्रिया अघि बढाएको हो । 

मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ को दफा १४ ९३० बमोजिम जिल्ला अदालतबाट ७ दिनको अनुसन्धान म्याद प्रहरीले पाएको छ । प्रहरीले १० दिनको अनुसन्धान म्याद मागेकोमा जिल्ला अदालतबाट ७ दिनको अवधि प्राप्त भएको छ। 


किन गरियो आगजनीको घटना ? 

स्रोतका अनुसार फागुन २४ गते प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी र इलाका प्रहरी कार्यालय लटिनाथका इन्चार्ज एवं प्रहरी निरीक्षक दर्शन खड्का दुबैले मार्मा गाउँपालिका क्षेत्रमा पर्ने चमेलिया नदी किनारमा सञ्चालन गरिएका दुइटा क्रसर उद्योगमा स्थलगत भ्रमण गरेका थिए । 

सोही मितिमा अधिकारीले क्रसर उद्योग सञ्चालन गरिरहेका दुइटा निर्माण कम्पनीलाई गाउँपालिकाबाट पत्राचार गरी यथाशीघ्र क्रसर बन्द गर्न जानकारी गराएका थिए । ‘अनुमति विना क्रसर उद्योग सञ्चालन गरिरहेको गाउँपालिका स्तरीय अनुगमनबाट देखिन आएको’ भन्दै ‘यस्ता कार्य प्रचलित कानुन विपरित भएकोले यथाशीघ्र क्रसर बन्द गर्न’ पत्रमा भनिएको छ । साथै यो निर्देशनको अवज्ञा गरेमा कानुन बमोजिम प्रक्रिया अघि बढने व्यहोरा पनि पत्रमा उल्लेख गरिएको छ । 

त्यसैदिन मार्मा गाउँपालिका क्षेत्रमा अवैध रुपमा सञ्चालित मदिरा पसल २४ घण्टाभित्र बन्द गर्न भन्दै प्रमुख प्रशासकीय अधिकृत अधिकारीले सुचना सार्वजनिक पनि गरेका थिए । क्रसर उद्योग र मदिरा पसल बन्द गराउने प्रयासले गर्दा त्यसै दिन रातीको समयमा प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण भएको धेरैको आशंका थियो । धेरैजसोले क्रसर उद्योग र मदिरा पसल सञ्चालकमाथि आशंका गरे पनि घटनाक्रम र प्रहरी अनुसन्धानले अधिकारीलाई नै कठघरामा उभ्याएको छ । 

प्रमुख प्रशासकीय अधिकृत अधिकारीले क्रसर उद्योग सञ्चालन गरिरहेका निर्माण व्यवसायीबाट आर्थिक संकलन गर्न खोजेको तर पैसा प्राप्त नभएपछि अनुगमन गर्ने र क्रसर उद्योग बन्द गर्नेबारे पत्राचार गरिएको एकथरीको बुझाइ छ । ‘क्रसर उद्योगबारे अनुगमन गर्दा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, कार्यपालिका सदस्यलगायत कुनै पनि जनप्रतिनिधि सहभागी छैनन्, प्रमुख प्रशासकीय अधिकृतले प्रहरी निरीक्षक खड्कालाई साथमा लिएर स्थलगत भ्रमण गरेका छन्’ मार्मा गाउँपालिकाका एकजना जनप्रतिनिधिले भन्नुभयो । 

clock मङ्गलबार ०६, चैत २०८० १०:०२

प्रतिक्रिया