बाजुरामा एसइई दिने विद्यार्थीको सङ्ख्या घट्दै

  आइतबार ०४, चैत २०८० १५:१०

बाजुरा। बाजुरामा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने विद्यार्थीको सङ्ख्या बर्सेनि घट्दै गएको छ । पछिल्ला दुई शैक्षिक सत्रको तथ्याङ्क अनुसार बाजुरामा प्रत्येक वर्ष एसइईका परीक्षार्थीको सङ्ख्यामा कमी आएको छ ।

गत वर्ष बाजुराबाट ३ हजार ३८२ जनाले (एसइई)  दिएका थिए । भने यो वर्ष दुई हजार ९३३ जना परीक्षामा सहभागी हुने भएका छन् । गत वर्षको भन्दा यो वर्ष बाजुराबाट (एसइई) सहभागी हुनेको सङ्ख्या ४४९ जना घटिआएको छ । 

यो वर्ष बाजुरामा नियमिततर्फ एक हजार ४८७ छात्र र एक हजार ३४७ छात्रा गरी दुई हजार ८३४ र ग्रेड वृद्धिका लागि छात्र ५१ छात्रा ४८ गरी ९९ जना विद्यार्थी (एसइई) दिनमा योग्य रहेको शिक्षा विकास तथा समन्वय एकाइ बाजुराले जनाएको छ ।  

परीक्षामा सहभागी हुन विद्यालय सञ्चालन हुने दिनको ७५ प्रतिशत हाजिरी हुनु पर्ने शिक्षा विकास तथा समन्वय इकाई बाजुराका अधिकारी लालबहादुर विष्टले बताए । उनले भने, “परीक्षा सञ्चालनको लागि गत वर्ष १५ वटा परीक्षा केन्द्र तय गरिएको थियो । भने यो वर्ष पनि त्यही सङ्ख्यामा परीक्षा केन्द्र कायम भएको छ  । ”

राष्ट्रिय परीक्षा बोर्डका अनुसार एसइई चैत १५ गते बिहीबार सुरु भएर चैत २७ गते मङ्गलबारसम्म चल्ने भएको छ । यो वर्ष पनि बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने परीक्षा तालिका सार्वजनिक गरिसकेको विष्टले बताए। 

बाजुरामा कक्षा एकदेखि तीनसम्म २२८ , चारदेखि पाँचसम्म १७६ , देखि आठसम्म ११२ , नौदेखि १० सम्म ६७ , एघारदेखि १२ सम्म २९ र तीन वटा क्याम्पसमा गरी ६१५ विद्यालय सञ्चालनमा रहेको शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका सूचना अधिकारी लालबहादुर विष्टले बताए । गोरखापत्रबाट

clock आइतबार ०४, चैत २०८० १५:१०

प्रतिक्रिया