खप्तड क्षेत्रलाई प्लास्टिकमुक्त क्षेत्र बनाउने अभियानको सुरु

  आइतबार ०४, चैत २०८० ०९:५७

डोटी । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य खप्तड क्षेत्रलाई प्लास्टिकमुक्त क्षेत्र बनाउने अभियानको सुरु गरिएको छ । खप्तड राष्ट्रिय निकुञ्जको अगुवाइमा खप्तड घुम्न आउने पर्यटकलगायतलाई निकुञ्ज क्षेत्रमा जथाभाबी प्लास्टिक नफाल्न सचेत गराइएको छ । 

प्लास्टिकजन्य वस्तुको प्रयोगबाट हुने हानि र क्षतिबारे सचेत गराउँदै प्लास्टिकरहित क्षेत्र बनाउने अभियान चलाइएको बताइएको छ । खप्तड राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत सरोजमणि पौडेलले निकुञ्ज क्षेत्रमा घुम्न आउने पर्यटकले प्रयोग गरेको प्लास्टिक जथाभाबी फ्याँकेर जाँदा पाटनक्षेत्र प्रदूषित हुनका साथै वन्यजन्तुले खाने गरेको बताए । 

प्लास्टिक खाएर वन्यजन्तुको मृत्यु हुँदा निकुञ्ज क्षेत्रलाई क्षति पुग्ने भन्दै उहाँले खप्तड क्षेत्रलाई प्लास्टिकरहित क्षेत्र बनाउन लागिएको उहाँले स्पष्ट पारे । ‘निकुञ्ज आरक्ष क्षेत्र भन्नेबित्तिकै प्राकृतिक वातावरणले अति सफा र सुन्दर हुनु पर्छ भन्ने मान्यता रहेको छ । 

उनले भने, ‘‘अब निकुञ्ज क्षेत्रमा प्लास्टिकजन्य सामग्रीको प्रयोग हुन नदिन कडाइका साथ काम गर्ने योजना बनाएका छौँ । प्लास्टिकजन्य वस्तु देख्नेबित्तिकै डस्टबिनमा राखिहाल्न सबैलाई आग्रह पनि गर्दै आएका छौँ ।’ प्राकृतिक दृष्टिकोणले सुन्दर खप्तड क्षेत्रलाई भू–स्वर्गको उपमा दिइएको छ ।

खप्तड क्षेत्रमा घुम्न आउने पर्यटकले प्रयोग गरेर प्लास्टिक जथाभावी फ्याँक्दा निकुञ्जको सौन्दर्यका साथै वन्यजन्तुमा समेत असर पर्ने देखिन्छ । खप्तड क्षेत्रमा पर्यटकको सङ्ख्या बढ्न थालेसँगै निकुञ्जको सौन्दर्यमा ह्रास आउन नदिन सरसफाइमा सबैको हातेमालो आवश्यक रहेको पर्यटन व्यवसायीको भनाइ छ ।

‘प्राकृतिक सौन्दर्यलाई कायमै राख्न जनचेतना फैलाउन जरुरी छ’ डोटीको झिग्रानामा रहेको खप्तड होमस्टेका सञ्चालनक तथा पर्यटन व्यवसायी दीपक खड्काले भने, “खप्तडको सौन्दर्यलाई कायमै राखेर वन्यजन्तुको पनि संरक्षण र पर्यटन प्रवर्धनमा सहयोग पु¥याउँदै खप्तड क्षेत्रलाई प्लास्टिकरहित क्षेत्रका रूपमा विकास गर्नु पर्छ । यसमा सबै क्षेत्रले सहयोग गर्नु पर्छ ।”

खप्तडमा बर्सेनि घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । खप्तड राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को सात महिनाको अवधिमा ८८३ जना पर्यटकले खप्तडको भ्रमण गरेका छन् । आव २०७९/८० मा दुई हजार ८९१ जना पर्यटकले खप्तडको भ्रमण गरेका छन् । यस्तै, आव २०७८/७९ मा दुई हजार २०९ र आव २०७७/७८ मा एक हजार ६८८ जना पर्यटकले खप्तडको भ्रमण गरेका छन् । गोरखापत्रबाट

clock आइतबार ०४, चैत २०८० ०९:५७

प्रतिक्रिया