सुख्खा पहिरो खस्दा के.आई.सिंह राजमार्ग ठप्प

  शुक्रबार २५, फागुन २०८० ०७:०९

डडेल्धुरा । डडेल्धुराबाट डोटी आउने डा. के.आई.सिंह राजमार्गको रडुवा क्षेत्रमा सुख्खा पहिरो खस्दा आवत जावत ठप्प भएको छ ।

बुधबार दिउँसोदेखि पहिरोबाट ढुंगामाटो खस्न सुरु भएपनि बिहीबार साझ साढे ७ बजे भने ठुलै सुख्खा पहिरो खस्दा आवतजावत ठप्प भएको हो ।

डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले सुख्खा पहिरो हटाउने प्रयास भइरहेको जानकारी दिएका छन् ।

‘पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन कति समय लाग्छ भन्ने बारे अहिल्यै बताउन सकिन्न’, प्रमुख जिल्ला अधिकारी अर्यालले भने, ‘तलबाट बे्रकर लगाएर पन्छाउन सकिने अवस्था छैन, जनशक्ति र उपकरण भएर पनि पर्ख र हेरको अवस्थामा छौं ।’

प्रत्यक्षदर्शी करन केसी सडक अवरुद्ध भएपछि यात्रुहरु अलपत्र परेको दुखेसो सुनाए । आफू बैकल्पीक सडकको प्रयोग गरी डोटीबाट डडेल्धुरा आइपुगेको केसीले जानकारी दिएका छन् ।

स्थानीयका अनुसार गजरौला–बडाल हुँदै भातकाँडा र बेडपानी हुँदै खोला तरेर रडुवा नजिक निस्कने बैकल्पीक मार्ग समेत रहेका छन् ।

clock शुक्रबार २५, फागुन २०८० ०७:०९

प्रतिक्रिया