पुग्ला त सुदूरपश्चिमका विद्यार्थीको हात हातमा पाठ्यपुस्तक, कैलाली र कञ्चनपुरमा वितरण जारी

  शुक्रबार ०८, बैशाख २०८० ११:३४     विश्वास खबर

कैलाली। सुदूरपश्चिम प्रदेशका विद्यालयमा जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले पाठ्यपुस्तक वितरण गरिरहेको जनाएको छ । शैक्षिक सत्रको सुरुमै जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले पाठ्यपुस्तक वितरण कार्य बर्ढाइ रहेको जनाएको हो। केन्द्रले सुरुमै प्रदेशका पहाडी र हिमाली जिल्लामा पाठ्यपुस्तक वितरण सम्पन्न गरेको प्रादेशिक कार्यालय प्रमुख धुव्रराज पन्तले बताए । 

सुरुआतमा बाजुरा जिल्लाबाट पाठ्यपुस्तक वितरण गरि सकिएको बताइएको छ । उनका अनुसार बाजुरासँगै बझाङ, दार्चुला, अछाम, डोटी, बैतडी, डडेल्धुरा जिल्लामा पाठ्यपुस्तक वितरण भैसकेको छ । उनले पहाडी र हिमाली जिल्लामा पाठ्यपुस्तक शैक्षिक सत्र सुरु हुन अगावै पुर्‍याइएकोमा तराईका कैलाली र कञ्चनपुरमा पाठ्यपुस्तक वितरण भइरहेको बताए ।

सरकारको निर्देशन अनुसार विद्यार्थीको हातहातमा शैक्षिक सत्रको सुरुमै पाठ्यपुस्तक पुर्‍याउनका लागि छिटोछरितो रूपमा कार्य अगाडि बढाइएको उनले बताए। विद्यालयको मागका आधारमा पाठ्यपुस्तकका पूरै सेट उपलब्ध गराइएको उल्लेख गर्दै उनले कैलाली र कञ्चनपुरमा पाठ्यपुस्तक वितरण सम्पन्न गरेपछि थप माग गरेका जिल्लाका विद्यालयमा आपूर्तिको कार्य गरिने जानकारी दिएका छन् ।उनले सुदूरपश्चिमका विद्यालयमा १८ लाख थान पाठ्यपुस्तकको माग रहेको बताउँदै १४ लाख बढी पाठ्यपुस्तक आइपुगेको बताए।

सोमध्ये केन्द्रले हालसम्म नौ लाख थान पाठ्यपुस्तक वितरणको कार्य गरेको बताए। बाँकी २ लाख पाठ्यपुस्तक आउँन बाकी रहेको उनले बताए । माग अनुसारका पाठ्यपुस्तक वैशाख महिनाभित्रै वितरण गरिसक्ने कार्यालय प्रमुख पन्तको भनाई छ । एक दुई वटा ऐच्छीक बिषय तथा कक्षा ९ को लेखा बिषय चेन्ज भएकोले ढिलाई भएको र छाप्ने काम जारी रहेको बताए । त्यो बाहेक प्रर्याप्त मात्रामा बिद्यार्थीको हात हातमा पाठ्यपुस्तक हातहातमा पुगीसकेको दाबी गरेका छन् । यता पुस्तक ब्यवसायीले पनी सहज रुपमा पाठ्यपुस्तक उपलब्ध रहेको बताएका छन् ।

डोटीबाट आएका शंकर कठायतले बिलीङ भए अनुसार माग अनुसार नै पुस्तक पाएको बताए । भुगोल र स्वास्थ्य बिषय नपाएकाले त्यो पनी केही दिनमै पाउने बताएका छन् । उनले बिगत जस्तो यो बर्ष पुस्तक नपाउने समस्या नरहने बताए । बैतडीबाट आएका इश्वर पाण्डेले पनी बिगतका जस्तो पुस्तक पाउने समस्या नरहेको भनाई राखे । उनले आगामी बर्षमा पनी सहज रुपले किताब मिलोस भन्ने चाहाना राखेका छन् । यस्तै डोटीको दिपायलबाट पुस्तक लिन जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढी पुगेका नवराज भण्डारीले पनी माग अनुसार नै पाठ्यपुस्तक पाएको बताउँदै खुसी ब्यक्त गरेका छन् ।

यस्तै बैतडीको पुरचौडीको शिवशक्ती पुस्तक पसलका संचालक जनक बिष्टले पनी जनक शिक्षा तोकेको समयमा भित्र पुस्तक पाएको बताए । यस्तै बझा ङ को बुगंल स्टेशनरीका संचालक दिपक बहादुर कुंवरले जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले पाठ्यपुस्तक वितरण गरे अनुसार ९८ प्रतिशत पुस्तक पाएको बताए । आफुले माग गरेका र जिल्ला अनुसार पाठ्यपुस्तक वितरण भएकोे आफु पुस्तक पाउने बिश्वास ब्यक्त गरेका छन्

। केही जिल्लाका थोरै विद्यालयमा रकम निकासाको कार्य ढिलो हुँदा पाठ्यपुस्तक आपूर्ति गर्न नसकिएको केन्द्रका कर्मचारी नरेश भण्डारीको भनाई छ । रकम निकासा पठाएसँगै पाठ्यपुस्तक वितरणको कार्य गरिने उनले बताए । पाठ्यपुस्तक बोकेका दुई गाडी किताब आएसँगै प्रदेशमा पाठ्यपुस्तकको माग पूरा हुने उनले बताएका छन् । छपाइ समयमै सम्पन्न हुँदा विगतका वर्षमा हुँदै आएको पाठ्यपुस्तकको अभावलाई पूर्ति गर्न सकिएको बताइएको छ ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ६ स्थित बैजनाथ माध्यमिक विद्यालय कसरौलका प्रधानाध्यापक वीरेन्द्रबहादुर सिंहले विगतमा पाठ्यपुस्तकको अभावमा पढाइको कार्य प्रभावित हुँदै आएको बताएका छन् । उनले बिगतमा सुगमको जिल्ला भए पनि कञ्चनपुरका सबै विद्यालयमा विगतमा पूरै पाठ्यपुस्तक पाउन नसकिएको बताए । पाठ्यपुस्तक प्राप्त गर्न नसक्दा पढाइका लागि इन्टरनेटबाट शिक्षकले सन्दर्भ सामग्री र पाठ्यपुस्तक डाउनलोड गरी पढाउने कार्य हुँदै आएको थियो, चालु शैक्षिक सत्रको सुरुमै पाठ्यपुस्तक उपलब्ध गराइने आश्वासन पाएको बताए ।

कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक आइपुगेको र कक्षा ६ देखि १२ सम्मका पाठ्यपुस्तक केही दिनभित्रै आइपुग्ने जानकारी भएको बताए । स्थानीय तहले पाठ्यपुस्तक खरिदका लागि विद्यालयलाई निकासा रकम पठाउने कार्य गरेका छन् । पाठ्यपुस्तक वितरणका लागि सुदूरपश्चिम प्रदेशका एक सय ७३ पुस्तक पसल जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा सूचीकृत गरिएको बताइएको छ ।

clock शुक्रबार ०८, बैशाख २०८० ११:३४     विश्वास खबर

प्रतिक्रिया