खाद्यले तोकेको गहुँको मूल्य बजार भन्दा सस्तो हुँदा किसानलाई घाटा

  बिहिबार ०७, बैशाख २०८० १६:५६

कञ्चनपुर। ग्रामीण भेगमा गहुँको खरिद बिक्री प्रतिक्विन्टल ४ हजारदेखि ४२ सयमा भइरहेको छ। तर गहुँ खरिद गर्ने सरकारी निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गहुँको मूल्य बजारमा चलनचल्तीभन्दा कम निर्धारण गरेको छ। जसका कारण हालसम्म लिमिटेडले गहुँ खरिद नै गर्न सकेको छैन । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले निर्धारण गरेको मूल्यले व्यापारीले दिइरहेको मूल्यसमेत घटाउने काम भएको कृषकहरू बताएका छन्।

 कम्पनीले यस वर्ष गहुँको मूल्य प्रतिक्विन्टल ३ हजार ३ सय रुपैयाँ ५१ पैसा निर्धारण गरेको छ। केन्द्रकै निर्देशनअनुसार जिल्ला खरिद समितिले चैत १४ मा मूल्य निर्धारण गरी चैत १६ देखि खरिद गर्ने निर्णय गरेको थियो । तर हालसम्म गहुँ खरिद सुरु नै नभएको कम्पनीका निमित्त प्रमुख तपेन्द्र उपाध्यायले बताए ।

उनले कम्पनी भन्दा बढी मूल्य बजारमा रहेकाले गहुँ नआएको र खरिद गर्न नसकिएको बताए । उनले मूल्य निर्धारणको निर्णयमा पनि बजार मूल्यबारे लेखेर पुनर्विचार गर्न पनि आग्रह गरेको बताए ।कम्पनीले गतवर्ष पनि गहुँ खरिद गर्न सकेको थिएन । मूल्य निर्धारणसम्बन्धी निर्णयमा बजार दर रेट ४ हजार हाराहारी रहेको उल्लेख गरी कम्पनीको केन्द्रीय कार्यालयमा पठाएको उपाध्यायले बताए । गहुँ खरिदका लागि कम्तीमा एक हजार हाराहारी मूल्य बढाउनुपर्ने उनको भनाई छ ।

शुक्लाफाँटा नगरपालिका ३ पिपलाडीका कृषक चेतराज चौधरीले हामीले ३८ सय देखि ४२ सय रुपैयाँसम्म प्रतिक्विन्टल गहुँ बिक्री गरिरहेको बताए । मूल्य अझै बढ्न सक्ने बताए। ४ बिघामा गहुँ खेती गरेका उनले यस वर्ष ५३ क्विन्टल गहुँ गाउँमै बिक्री गरेको बताए । यस वर्ष विगतभन्दा राम्रो उत्पादन भएको उनको भनाइ छ ।खाद्यले बजारको भन्दा कम मूल्य तोकेकोले किसानभन्दा व्यापारीलाई फाइदा पुग्ने भीमदत्त नगरपालिकाका कृषक जनक जोशीले बताए ।

यसले हामीले पाइरहेको मूल्य पनि घट्ने उनको भनाई छ । चैत पहिलो सातासम्म गहुँको मूल्य ४५ सय प्रतिक्विन्टल पुगेको थियो । भारतबाट गहुँ आयात रोकिँदा यहाँ गहुँको मूल्यप्रति क्विन्टल ५५ सयसमेत पुगेको थियो । सरकारी मूल्यले व्यापारीलाई फाइदा भीमदत्त नगरपालिका १८ का कृषक ईश्वर उपाध्यायले बताए । 

अब व्यापारीले पनि मूल्य घटाउँदा बीउदेखि जोताइ, मलखाद कटाई चुटाइको मूल्य बढेका कारण खाद्य व्यापार कम्पनीले निर्धारण गरेको मूल्यले घाटा हुने गरेको बताए । कञ्चनपुरमा यस वर्ष ३२ हजार २ सय १० हेक्टरमा गहुँखेती गरिएको छ । समयमै मलखादको उपलब्धता र वर्षा भएका कारण यस वर्ष गहुँको उत्पादकत्व बढने अनुमान छ । गतवर्ष जिल्लामा गहुँको उत्पादकत्व ३ मेट्रिक टन प्रतिहेक्टर रहेकोमा यस वर्ष साढे ३ मेट्रिक टन पुग्ने अनुमान गरिएको छ।

clock बिहिबार ०७, बैशाख २०८० १६:५६

प्रतिक्रिया