आजदेखि राजधानी काठमाडौंमा सुर्तीजन्य पदार्थ बेचबिखनमा प्रतिबन्ध

  बिहिबार २८, मङि्सर २०८० ०६:४६

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि काठमाडौंमा सुर्तीजन्य पदार्थ बेचबिखनमा प्रतिबन्ध लगाएको छ। कामपाले १५ दिनअघि सार्वजनिक सूचना जारी गरी सेवनका निमित्त बनाइएका वा उत्पादन गरिएका चुरोट, बिँडी, सिंगार, तमाखु, सुल्फा, कक्कड, प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोगमा मंसिर २८ गतेदेखि रोक लगाउने र कसैले बिक्री गरेको देखे नगर प्रहरीले सामान जफत गर्ने जानकारी दिएको थियो।

सोही आधारमा कामपाले आजबाट सुर्तीजन्य पदार्थमा प्रतिबन्ध गर्न लागेको हो। त्यसका लागि आज बिहानैबाट महानगरका चार क्षेत्रमा महानगरको प्रहरी परिचालन हुनेछन्।

कामपाका निमित्त प्रहरी प्रमुख प्रहरी उपरीक्षक विष्णुराज जोशीले नेपाल समाचारपत्रलाई दिनुभएको जानकारी अनुसार राजधानीको पूर्वी, मध्य, पश्चिम र उत्तर क्षेत्रमा ५० जना नगरप्रहरी परिचालन हुनेछन्।

सुर्तीजन्य पदार्थमा लगाइएको प्रतिबन्ध कार्यान्वयन भए नभएको अनुगमन गर्न पूर्वी क्षेत्रमा प्रहरी उपरीक्षक दिनेश अर्याल, मध्यमा प्रहरी उपरीक्षक मनोज लामिछाने, पश्चिममा प्रहरी निरीक्षक प्रकाश पण्डित र उत्तरमा प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टको टोली परिचालित हुनेछ।

त्यसबाहेक नगर प्रहरी मुख्यालयमा प्रहरी निरीक्षक ईश्वर वाग्लेको कमान्डमा केन्द्रीय सहायता कार्यदल रहनेछ । कामपाले सुर्तीमात्र नभई खुद्रा चुरोट बिक्रीमा पनि रोक लगाउने भएको छ।

निमित्त प्रहरी प्रमुख प्रहरी उपरीक्षक जोशीले प्रत्येक टोलीमा १० जना नगर प्रहरी परिचालन हुने र आवश्यक परेमा नेपाल प्रहरीको समेत सहयोग लिइने बताउनुभयो।

यसैबीच कामपाले आजबाट राजधानीमा सञ्चालन भएका सबै रेस्टुराँलाई अनिवार्य रूपमा धुम्रपान सेवन कक्ष राख्नुपर्ने नयाँ नियम ल्याएको छ। कामपाका प्रहरीले राजधानीमा सञ्चालित सबै रेस्टुरेन्ट अनुमगन गरी सेवन कक्ष भए नभएको निक्र्योल गर्नेछ ।

कामपा जनस्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले राजधानीमा सञ्चालित सबै रेस्टुरेन्ट व्यवसायीले आफ्नो रेस्टुराँमा अनिवार्य रूपमा धुम्रपान सेवनकक्ष राख्नुपर्ने स्पष्ट पार्दै भन्नुभयो– ‘आजबाट यो नियम लागु गराएका छौं, नगरप्रहरीले अनुगमन गरी सेवनकक्ष नराखेकालाई कारबाही गर्नेछ ।’ उहाँले धुम्रपान सेवन कक्ष स्थापना गर्न केही समय दिने तयारी भएको जानकारी पनि दिनुभयो।

सुर्तीजन्य पदार्थ नियन्त्रण ऐनको परिच्छेद–२ को दफा–३ मा सुर्तीजन्य पदार्थ नियन्त्रणअन्तर्गत शिक्षण संस्था, सरकारी कार्यालय, पुस्तकालय, तालिम तथा जनस्वाथ्यसम्बन्धी संस्था, सार्वजनिक सवारी साधन, वृद्धाश्रम, विमानस्थल, बाल कल्याण गृह, क्लबहरू, सार्वजनिक शौचालय, होटल, रेस्टुराँ, छात्रावास, व्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतिक्षालयलगायतका सार्वजनिक स्थलहरूमा सुर्तीजन्य पदार्थ सेवन र बिक्री वितरण गर्न नपाइने व्यवस्था गरेको छ । ती स्थलमा सेवन गरे सय रुपियाँ जरिवाना गर्नसक्ने व्यवस्था छ।

ऐनको अनुच्छेद–५ को उपदफा–१७ मा सजायसम्बन्धी व्यवस्थाअनुसार सो क्षेत्रमा धुम्रपान र सुर्तीजन्य पदार्थ सेवन गरे तुरुन्त रोक लगाउन सक्ने, पटकपटक सेवन गरेमा बाहिर निकाल्न सक्ने र अटेर गरेमा उक्त रकम जरिवाना गराउने व्यवस्था छ।

ऐनको दफा–५ अन्तर्गत विभिन्न कसुरमा ५ हजारदेखि १ लाख रुपियाँ जरिवाना गर्नेसम्मको व्यवस्था छ। यसअघि सरकारले ऐन जारी गरेलगत्तै सरकारले प्रहरी परिचालन गरी सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन गर्नेमाथि तत्काल पक्राउ गरी सय रुपियाँ जरिवाना गर्ने गरेको थियो।

महानगरलले पान पसल र खुला रूपमा बिक्री गर्ने खुद्रा पसललगायतलाई निसाना बनाएका छ। कामपा जनस्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलका अनुसार कामपा ती क्षेत्रमा व्यापक अनुगमन गरी कारबाही गर्ने तयारीमा लागेको छ।

कामपाले २९ औँ महानगर दिवसको सन्दर्भ पारेर जनस्वास्थ्य र वातावरणमा हानि पुर्‍याउने सुर्तीजन्य वस्तुको भण्डारण, बिक्री र प्रयोगमा रोक लगाउने गरेको हो । कामपाले जारी गरेको जनस्वास्थ्य ऐन २०८० दफा ४२ अनुसार सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउन र निषेध गर्न सक्ने व्यवस्था छ।

सोही व्यवस्थाअनुसार सुर्तीजन्य वस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा परिरहेको नकारात्मक असर रोक्न ऐनको व्यवस्थालाई कडाइका साथ विभागको भनाइ छ । सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएपछि कामपाको राजस्व कटौती हुने विषयमा कामपाले चासो देखाएको छैन।

यद्यपि, कामपा राजस्व विभाग प्रमुख धु्रव काफ्लेले सुर्तीजन्य पदार्थ बिक्री गर्ने साना पान पसल र खुद्रे पसलबाट खासै राजस्व संकलन नहुने टिप्पणी गर्दै भन्नुभयो– ‘ती पसल हालसम्म दर्ता भएका छैन, सबै खुद्रे पसलबाट राजस्व संकलन पनि हुँदैन। राजस्व संकलन गर्नुभन्दा पनि मानवीय स्वास्थ्यमा महानगर गम्भीर छ।’

clock बिहिबार २८, मङि्सर २०८० ०६:४६

प्रतिक्रिया