सुदूरपश्चिमको ब्यापारिक केन्द्र कैलालीमा व्यावसायिक तथा व्यापारीक फर्म बन्द हुने क्रम बढ्दै

  बिहिबार २८, मङि्सर २०८० ०६:३६

धनगढी। सुदुरपश्चिम प्रदेशको ठूलो ब्यापारिक केन्द्र कैलालीमा पछिल्लो समय व्यावसायिक फर्म तथा व्यापार केन्द्रहरू धमाधम बन्द हुने क्रम बढेको पाइएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीको तथ्याङ्कले व्यावसायिक फर्म तथा व्यापार केन्द्रहरू धमाधम बन्द हुने क्रम बढेको देखाएको हो।

कार्यालय प्रमुख सुरेश जैशीका अनुसार कैलालीमा व्यापारिक केन्द्र बन्द हुने क्रम बढेको छ भने दर्ता हुने क्रम घटेको छ। चालु आर्थिक वर्षको हालसम्म तीन सय ९७ वटा फर्महरू दर्ता हुँदा दुई सय १५ वटा फर्मको दर्ता खारेजी भइसकेको उनले बताए।

यस वर्ष दर्ता भएका फर्ममध्ये ५४ प्रतिशत खारेज भैसकेका छन्। दर्ता खारेज गर्नुको कारण खारेजी फारममा उल्लेख गर्नु नपर्ने भए पनि दर्ता खारेज गर्न आउने व्यवसायीहरूले व्यवसायमा कमी आएको, विदेश गइरहेको जस्ता कारणहरू बताउने गरेको उनले जानकारी दिए । उनले दर्ता खारेज गर्नेमध्ये केहीले मात्रै व्यापार वृद्धि भई कम्पनीमा जान वाणिज्य कार्यालयको दर्ता खारेज गर्न आएको बताउने गरेको आफूसँग भन्ने गरेको बताए।

विगतमा वार्षिक दुईदेखि तीन हजारसम्म फर्महरू दर्ता हुँदै आएकोमा दर्ता हुने फर्मको संख्या घटेर एक हजारको नजिक पुगेको छ । गत आर्थिक वर्ष २०७९/८० मा एक हजार एक सय १३ फर्म दर्ता हुँदा तीन ९७ फर्मको दर्ता खारेज गरिएको छ । यो वर्ष दर्ता भएको फर्मको आधारमा करिब ३६ प्रतिशत फर्म खारेज भएको छ। आर्थिक वर्ष २०७८/७९ मा दुई हजार ९९ फर्म दर्ता हुँदा चार सय आठ वटा फर्मको दर्ता खारेज गरिएको थियो। २०७७/७८ मा दुई हजार पाँच सय ३० फर्म दर्ता हुँदा चार सय ५१ फर्मको दर्ता खारेज गरिएको थियो।

यी वर्षहरूमा क्रमशः साढे १९ र करिब १८ प्रतिशत फर्मको दर्ता खारेज भएको तथ्याकंले देखाएको छ। कैलालीमा हालसम्म २८ हजार चार ७३ फर्महरूको दर्ता कायम रहेको कार्यालयले जनाएको छ । आर्थिक मन्दी र बैंकहरूले वृद्धि गरेको ब्याजको कारण व्यापार व्यवसायमा ह्रास आएको व्यवसायीहरूले बताएका छन्। उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष शंकर बोगटीले व्यापारीहरू व्यापारमा घाटा बेहोर्नुपर्ने अवस्था आएपछि व्यापार बन्द गरेर विदेश पलायन हुन थालेको बताए।

निरन्तर व्यापारमा आएको गिरावटको कारण व्यापारिक फर्महरू बन्द हुन थालेपछि धनगढी बजारका कतिपय सटरहरू बन्द देखिन थालेका छन् । कतिपय सटरमा ‘सटर भाडामा छ’, ‘टु लेट’ जस्ता शब्दहरू लेखेर घरबेटीको मोबाइल नम्बर लेखेको ब्यानर, तुल, पर्चा टाँसिएको देखिन्छ। त्यसरी लेखिएका सटरहरू समेत महिनौंदेखि भाडामा लाग्न सकेका छैनन्। आयातमा आधारित बजार रहेको हुनाले पनि सरकारले महँगी नियन्त्रण गर्न नसकिरहेको महासंघका अध्यक्ष बोगटीले बताए।

ट्रेडिङ बिजनेस भन्दा स्थानीय उत्पादनमूलक बिजनेसमा लगानी गर्न आवश्यक रहेको उनको भनाई छ। दिनप्रति दिन सामान महँगिदै गएपछि ग्राहकहरूले सामान किन्न कम गरेका छन्। व्यापार नभएपछि व्यापारीहरूले व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएको ब्यवसायीको भनाई छ। व्यापार व्यवसाय खस्किँदो अवस्थामा रहे पनि उकास्ने योजना सरकार नभएको उनीहरुले बताएका छन्।

clock बिहिबार २८, मङि्सर २०८० ०६:३६

प्रतिक्रिया