नवजीवन सहकारी संस्थाको ३० औँ वार्षिक एकाईगत साधारणसभा धनगढीमा सम्पन्न

  बुधबार २७, मङि्सर २०८० २०:५३

धनगढी । नवजीवन सहकारी संस्था लिमिटेडको ३० औँ वार्षिक एकाइगत साधारण सभा धनगढीमा सम्पन्न भएको छ । नवजीवन सहकारी संस्थाका अध्यक्ष देव बहादुर बमको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि देउवाले सुदूरपश्चिम प्रदेशलाई चिनाउन नवजीवन सहकारी संस्थाले महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् । नवजीवन सहकारी जस्ता धेरै संस्था भएमा सरकार समेत बलियो हुने उनले बताएका हुन् ।

मन्त्री देउवाले केही सहकारीले सेयर सदस्यको पैसा दुरुपयोग गरेका कारण सहकारीप्रति जनताको हेर्ने दृष्टिकोण परिवर्तन भएको बताए। अहिलेको समय सहकारीबाट कोही अलग रहन सक्दैन, सबै सहकारीमा जोडिएका छन् । अव आर्थिक अवस्था कमजोर भएकालाई कार्यक्रम ल्याएर स्वरोजगार बनाउनेतर्फ लाग्न उनको सुझाव थियो। 

प्रदेशसभा सदस्य धर्मराज पाठकले सहकारी भनेको राज्यको पिल्लर भएको बताए । उनले सहकारीको दायरा सरकारले बढाउनुपर्ने सुझाव दिए ।  यस क्षेत्रमा देखिएका समस्यालाई सरकारले समाधान गर्नुपर्ने उनको भनाइ छ । 

धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला कुमारी रानाले नबजिवन सहकारीले निम्न स्तरका नागरीकको जिवन उकास्न महत्वपुर्ण भुमीका खेलेको बताइन् । उनले नागरीक स्तरमा काम गर्दा स्थानिय तहसग सहकार्य गरेर काम गर्न आग्रह गरीन् । 

संस्थाका अध्यक्ष देवबहादुर वमले नवजीवन सहकारीको ब्राण्डमा छिटै बजारमा चामल आउने र त्यसका लागि ४ हजार ८ सय क्विन्टल धान खरिद गरिसकेको बताए। उनले माघ महिनामा नवजीवनको दुई वटा डडेलधुरा र काठमाडौँमा शाखा खोल्न अनुमति पाइसकेको बताए ।

२०५० सालमा स्थापना भएको सहकारी संस्थामा हाल ३२ हजार ७ सय ५४ जना शेयर सदस्य छन् । संस्थाले सेयर सदस्य सुत्केरी हुँदा १० हजार, मृत्यु संस्कारमा २० हजार र कुनै ठुलो अङ्ग प्रत्यारोपण गर्नु परेमा एक लाख सहयोग गर्दै आएको छ । 

आर्थिक वर्ष २०७९–८० को प्रतिवेदनमा २०८० असार मसान्तसम्म जगेडा तथा कोषमा ५५ करोड ५४ लाख रुपियाँ पुगेको जनाइएको छ । २०७९ असारसम्म सो कोषमा ५० करोड ८८ लाख रकम रहेको थियो । आर्थिक मन्दीका बाबजुद पनि संस्थाको बचत सङ्कलनमा असर परेको देखिँदैन । 

गत वर्षको निक्षेप चार अर्ब नौ करोड १३ लाख ३० हजार रहेकोमा वृद्धि भई २०८० असार मसान्तसम्म चार अर्ब ४१ करोड ४५ लाख ४१ हजार निक्षेप सङ्कलन गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ । 

२०८० असार मसान्तसम्म संस्थाको नगद र बैङ्क मौज्दात एक अर्ब १९ करोड ३५ लाख ४३ हजार रहेको छ । कार्यक्रममा पूर्व सांसद एवम् नवजीवनका सल्लाहकार महेश्वर पाठक, पुनर्वास नगरपालिकाका मेयरलगायतले मन्तव्य व्यक्त गरे ।

clock बुधबार २७, मङि्सर २०८० २०:५३

प्रतिक्रिया