डिजेल र मट्टितेलको मूल्य घट्यो पेट्रोलको यथावत्

  बुधबार १५, कार्तिक २०८० ०६:२३

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। भारतबाट मूल्य घटेर आएपछि मंगलबार मध्यरातदेखि लागू हुने गरी निगमले डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ४ रुपैयाँ घटाएको हो।

निगमका अनुसार इन्डियन आयल कर्पोरेसनले पठाएको मूल्यसूचीमा पेट्रोल प्रतिलिटर १.५१ रुपैयाँ बढेर र डिजेलको मूल्य ३.६३ रुपैयाँ घटेर आएको थियो। निगमले पेट्रोलको मूल्य यथावत् राख्दै डिजेल र मट्टितेलको मूल्य घटाइएको जनाएको छ।

निगमका अनुसार काठमाडौँ उपत्यकामा पेट्रोल १७२ रुपैयाँ प्रतिलिटरमा बिक्री भइरहेको छ भने मूल्य घटेपछि डिजेर र मट्टितेलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ कायम भएको छ।

खाना पकाउन एलपी ग्यासको मूल्य बढेर आए पनि उपभोक्ताको हितलाई मध्यनजर गर्दै मूल्य यथावत् राखिएको निगमले जनाएको छ। ग्यासको प्रतिसिलिन्डर १ हजार ८९५ रुपैयाँ मूल्य तोकिएको छ। नयाँ मूल्यसूचीअनुसार ग्यासको मूल्य ९३.६० रुपैयाँ बढेर आएको थियो।

आयल निगमलाई इन्डियन आयल निगमले १५/१५ दिनमा मूल्यसूची पठाउने गर्छ। सोही मूल्यसूचीका आधारमा नेपालमा पेट्रोलियम पदार्थको मूल्य तोकिने गरिन्छ।

clock बुधबार १५, कार्तिक २०८० ०६:२३

प्रतिक्रिया