इजरायलमा मारिएका सबै नेपाली विद्यार्थीको शव पहिचान

  मङ्गलबार १४, कार्तिक २०८० ०६:२८

धनगढी । दक्षिणी इजरायलको किबुज अलुमिममा हमासको आक्रमणमा परी निधन भएका १० जनै नेपाली विद्यार्थीको शव पहिचान भएको छ। तेलअभिभस्थित नेपाली राजदूतावासले सोमबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै थप २ जना विद्यार्थीको शव पहिचान भएको जनाएको हो।

राजदूतावासका अनुसार सोमबार सुनसरीका राजेशकुमार स्वर्णकार र धनुषाका आनन्द साहको शव पहिचान भएको हो। यसअघि ८ जना नेपाली विद्यार्थीको शव पहिचान भइसकेको थियो। 

राजदूतावासले पहिचान भएका शवहरू छिट्टै पठाउने व्यवस्था मिलाउने पनि जनाएको छ। यसअघि पहिचान भएका डोटीका राजन फुलरा र पदम थापा तथा सल्यानका प्रवेश भण्डारीको शव आउन बाँकी रहेको छ।

यसअघि राजदूतावासले बझाङमा गणेशकुमार नेपाली, दार्चुलाका दिपेशराज विष्ट र लोकेन्द्रसिंह धामी, कैलालीका आशिष चौधरी र नारायणप्रसाद न्यौपानेको शव पठाइसकेको छ । 

अक्टोबर ७ मा हमासको आक्रमणमा परी ‘लर्न एन्ड अर्न’ कार्यक्रममा गएका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । त्यस्तै सम्पर्कविहीन रहेका विपिन जोशीको खोजी जारी रहेको पनि राजदूतावासले जनाएको छ।

clock मङ्गलबार १४, कार्तिक २०८० ०६:२८

प्रतिक्रिया