सुदूरपश्चिमका सीमा क्षेत्रका शहरमा भारुको कारोबार नहुँदा समस्या

  शनिबार ११, कार्तिक २०८० ०७:१९     रासस

धनगढी । सुदूरपश्चिमका सीमा क्षेत्रका शहरमा १ सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक कारोबारमा प्रतिकूल असर पुगेको छ । नेपाली बजारमा भारतीय मुद्राको कारोबार रोकिँदा आर्थिक कारोबारमा समस्या भइरहेको धनगढीका व्यापारी सुभाश चौधरीले बताए ।

‘नेपाल राष्ट्र बैंकले १ सयभन्दा बढी दरको भारु नोटको कारोबार नगर्न भनेको छ,’ चौधरीले भने, ‘कुनै पनि ग्राहकले भारु नोट लिन मान्दैनन्, यसले गर्दा हाम्रो व्यापारमा नकारात्मक असर पुगेको छ ।’

भारुको कारोबार रोकिँदा काम विषेशले भारतका शहरमा जानुपर्ने सर्वसाधारणलाई बढी समस्या हुने गरेको छ । भारतबाट नेपाल भित्रिन चाहने भारतीय नागरिकसमेत समस्या परेका छन् ।

गौरीफन्टा सीमानाका हुँदै धनगढी भित्रिन चाहने कतिपय भारतीय नागरिक ५ सय दरको भारु नोट नचल्ने सूचना पाएसँगै सीमा क्षेत्रबाट नै फर्किन थालेका छन् ।

नेपाली मुद्रामा कारोबार हुने सीमापारी बनगाउँका व्यापारीले नेपाली ग्राहकसँग नेरुको भारु सटही गर्दासमेत कतिपय ग्राहक ठगिने गरेको अर्को समस्या पनि छ । उनीहरूले सटही गर्दा चलनचल्तीभन्दा कम दिने गरेको मालसामान किनमेलका लागि बनगाउँ बजार पुग्ने नेपाली ग्राहकले बताएका छन् ।

चाडपर्व सुरु भएसँगै बनगाउँ बजारमा मालसामान किनमेलका लागि नेपाली ग्राहकको भीड लाग्ने गरेको छ ।

सीमाक्षेत्रका नेपाली बजार क्षेत्रमा खाने तेल, मरमसला, चिनी, दालका साथै लत्ताकपडाको मूल्यको तुलनामा बनगाउँमा केही सुपथ मूल्यमा मालसामान पाइने भएपछि बनगाउँ पुग्नु परेको उपभोक्ताले बताएका छन् ।

नेपालका बजारमा खाने तेल, चिनी, दाललगायत उपभोग्य सामानको मूल्य चर्को हुँदा आफू सामान किनमेल गर्न बनगाउँ पुगेको कैलाली भन्सारमा भेटिएकी धनगढीकी मनमति विष्टले बताइन् ।

बनगाउँ बजार जाने ग्राहकमध्ये ९५ प्रतिशत ग्राहक नेपाली हुने गरेका छन् । सो क्षेत्रमा व्यवस्थापन भएको गौरीफन्टा बजार केही वर्षअघि हटाउन लगाइएपछि नजिकैको बनगाउँमा बजार व्यवस्थापन गरेर व्यापारीले कारोबार थालेका हुन् ।

त्यहाँ नेपाली ग्राहकको भीड लाग्न थालेपछि धनगढी, अत्तरिया लगायतका नेपाली बजारको कारोबार बढ्न नसेकेको नेपाली व्यापारीले बताएका छन् । ‘कोरोना कालदेखि खस्किएको व्यापार अझैसम्म सुधार हुन सकिरहेको छैन,’ व्यापारी वासुदेव जोशीले भने, ‘चाडपर्वका बेला व्यापार बढ्ने आशा गरिए पनि सुधार हुन सकिरहेको छैन ।’

भारतीय बजार भएर पनि बनगाउँमा नेपाली रुपैयाँमा सहज रूपमा कारोबार हुने गरेकाले ग्राहकलाई भारु सटही गरेर जानुपर्ने बाध्यता हुँदैन । रासस

clock शनिबार ११, कार्तिक २०८० ०७:१९     रासस

प्रतिक्रिया