धनगढीको त्रिभुवन माध्यमिक विद्यालय परिसरमा पानी जम्दा पठनपाठनमा समस्या

  बुधबार ३१, साउन २०८० ११:०२

धनगढी । धनगढीमा रहेको त्रिभुवन माध्यमिक विद्यालय परिसरमा पानी जम्दा पठनपाठनमा समस्या भएको छ । गत साता देखि परेको अविरल वर्षापछि जमेको पानीको निकास नहुँदा पठन पाठनमा समस्या भएको हो । 

धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ मा रहेको त्रिभुवन स्कुल परिसरमा पानी जमेका कारण भित्र जाने मार्ग नै बन्द भएपछि स्कुल नै बन्द गर्नुपर्ने अवस्था आएको स्कुल प्रशासन जनाएको छ ।

स्कुल अगाडी बनाइएको सडक स्कुल परिसरभन्दा उचाइमा परेका कारण पानी सबै परिसरभित्र जाम हुँदा निकासाको माध्यम नपाउँदा सानो वर्षामा पनि जलमग्न हुने गरेको त्रिभुवन माध्यमिक विद्यालयका प्राचार्य सिताराम अवस्थिते बताए ।

एक हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको स्कुलमा विद्यार्थीलाई नै आवतजावतमा समस्या हुँदा समेत व्यवस्थापनका लागी कुनै पनि निकायले चासो नदिएको उनको भनाई छ ।

उनले स्कुल परिसरमा जमेको पानीको निकासका लागि वडा र पालिकामा जानकारी गराएपनि व्यवस्थापनमा कुनै चासो नदेखाएको गुनासो गरे । यस्ता समस्यामा सरकार जिम्मेवारी हुनुपर्ने स्कुल प्रशासनको दाबी छ । 

वर्षाका कारण स्कुल नै बन्द गर्नुपर्ने अवस्था देखिएपछि नगरप्रहरीहरुले कट्टामा बालुवा हालेर बेकल्पिक मार्ग निर्माण गरेको छ । अहिले स्कुल परिसर पोखरी जस्तै बनेको छ । बिद्यार्थीहरुको सवारी साधन राख्ने पार्किङ स्थल डुबानमा छ । 

 

clock बुधबार ३१, साउन २०८० ११:०२

प्रतिक्रिया