कैलालीमा आजदेखि ट्राफिक जरिवाना अनलाइन प्रणालीबाट

  सोमबार ०१, साउन २०८० १३:१५     विश्वास खबर

धनगढी । कैलालीमा ट्राफिक प्रहरीले आजदेखि लागू हुनेगरी जरिवानाबापतको रकम अनलाइन प्रणालीबाट लिन सुरु गरेको छ । ट्राफिक प्रहरीसँग जरिवानाबापत नगद कारोवारलाई हटाउनका लागि साउन १ गतेदेखि ट्राफिक प्रहरीले जरिवाना बापतको रकम अनलाइन प्रणालीबाट लिन थालेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख एवम् प्रहरी निरीक्षक बिरेन्द्र जोहारीले ट्राफिक भ्याइलेन्ट रेकर्ड सिस्टम (टिभिआरएस) सफ्टवेयर माध्यमबाट ट्राफिक जरिवाना बैंकिङ प्रणालीबाट भुक्तानी लिन थालेको जानकारी दिए ।

उनका अनुसार ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउने सवारीका चालकलाई ट्राफिक जरिवाना वापतको राजश्व सङ्कलन अनलाइन प्रणालीबाट भुक्तानी गर्न थालेको हो ।

उनले भने, ‘‘चेकिङका क्रममा सवारी नियम उल्लङ्घन गर्ने सवारी चालक तथा धनिलाई ट्राफिक प्रहरीले २४ घण्टे पुर्जी दिन्छ । पुर्जीका आधारमा २४ घण्टाभित्र नजिकको राष्ट्रिय वाणिज्य बैंकसँगै इसेवा, खल्ती कनेक्ट आइपिएस, मोबाइल बैकिङबाट भुक्तानी गर्न सक्ने छन् ।’’उनले जिल्ला भित्रमा जुनसुकै ठाउबाट पनि जरीवाना तिरेर आफ्ना कागजात लिन सकिने बताए । 

जरिवाना बुझाउनका लागि सवारी चालकले कैलालीमा जिल्ला ट्राफिक प्रहरी कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय अत्तरीया र ट्राफिक प्रहरी कार्यालय लम्कीमा जरिवाना बापतको रकम भुक्तानी गरेको प्रतिलिपि बुझाउने व्यवस्था गरिएको प्रहरी निरीक्षक जोहारीले बताए ।

clock सोमबार ०१, साउन २०८० १३:१५     विश्वास खबर

प्रतिक्रिया