बर्दगोरिया वडा नम्बर २ को राजस्व सङ्कलन पौने २८ लाख

  बुधबार २७, असार २०८० १२:१७

धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ ले चालु आर्थिक वर्ष २०७९÷०८० मा नदीजन्य पदार्थको रोयल्टी सहित पौने २८ लाख राजस्व सङ्कलन गरेको छ । विभिन्न सेवा शुल्कहरूबाट १३ लाख ४७ हजार ८ सय ६७ राजस्व सङ्कलन गरेको वडा कार्यालयले नदीजन्य पदार्थको रोयल्टीबाट १४ लाख २५ हजार सङ्कलन गरेको छ । 
  
वडा कार्यालयले एकीकृत सम्पत्ति करबाट ८ लाख ३९ हजार २ सय ९५, विविध नगदी रसिद करबाट ५ लाख ७ हजार ९ सय ४२ र रोयल्टीबाट १४ लाख २५ हजार गरी यस वर्ष कुल २७ लाख ७२ हजार २ सय ३७ रुपैयाँ राजस्व सङ्कलन गरेको वडा कार्यालयले जनाएको छ । 

यस्तै वडा कार्यालयबाट यस वर्ष नागरिकता सिफारिस २ सय ३५, नाता प्रमाणित ७३, चार किल्ला प्रमाणित १ सय ५३, घर बाटो प्रमाणित १ सय ९१ र विपन्न सिफारिस २० जनाले लिएका छन् । यस्तै वर्गिाकरण रोक्का सिफारिस ८१, योजना, अपाङ्गता तथा अन्य गरी साधारण सिफारिस १ हजार ७ सय १२, अंशियार सगोल प्रमाणित ८५ र नामसारी १५ जनालाई वडाले सेवा दिएको छ । 

यस्तै वडाले यस वर्ष १ सय ७१ जनाको जन्म दर्ता, ५२ जनाको मृत्यु दर्ता, १ जनाको सम्बन्ध विच्छेद र ६७ जनाको विवाह दर्ता गरेको छ । यस वर्ष यस वडामा ७१ परिवारका २ सय ४६ जना बसाई सरी आएका छन् भने १७ परिवारका ३५ जना बसाई सरी अन्यत्र गएका छन् । 

यस वडामा ३ यस ३० जनाले ज्येष्ठ नागरिक भत्ता, ६२ जनाले ज्येष्ठ नागरिक भत्ता (दलित) भत्ता,  ५५ जनाले ज्येष्ठ नागरिक एकल महिला भत्ता पाएका छन् भने १ सय १२ जनाले एकल महिला भत्ता प्राप्त गरेका छन् । यस्तै १४ जनाले पूर्ण अपाङ्गता भत्ता, ३६ जनाले अति अशक्त अपाङ्गता भत्ता र सय जनाले दलित बालबालिका भत्ता गरी कुल ७ सय ९ जनाले सामाजिक सुरक्षा भत्ता बुझिरहेका छन् ।

clock बुधबार २७, असार २०८० १२:१७

प्रतिक्रिया