महाकाली पुल आवागमनमा पूर्ण प्रतिबन्ध, पैदल यात्रुलाई समेत रोक

  आइतबार १२, चैत २०७९ १५:०४
कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल

कञ्चनपुर । कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलमा आवागमन बन्द गरिएको छ। पुलको दुवैतर्फ विंगस वाल निर्माण (पर्खाल) को काम सुरु भएकाले आवागमन बन्द गरिएको हो। पुलमा शुक्रबारदेखि आवागमन बन्द छ। ठूलासाना सवारीसाधन र पैदल यात्रुलाई समेत आउजाउमा रोक लगाइएको पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सिफइसी जेभीका इन्जिनियर किशोर पाण्डेयले बताए।

उनका अनुसार २० दिनका लागि पुलमा आवागमन बन्द गरिएको छ। ‘दुवैतर्फ विंगस वाल निर्माण गर्नुपर्ने भएकाले बाटो ब्लक भएको छ,’ इन्जिनियर पाण्डेयले भने, ‘नयाँ वर्षमा खोल्ने गरी धमाधम काम भइरहेको छ।’ उनका अनुसार पुलको दुवै छेउमा गहिरो खाल्डो खनेर पर्खाल निर्माण भइरहेको छ, जसका कारण बाटो आफै बन्द हुन पुगेको छ।

पक्की पुलमा आवागमन बन्द भएपछि दोधारा चाँदनीवासी समस्यामा परेका छन्। साना सवारीसाधन र पैदल यात्रुले झोलुंगे पुल भएर यात्रा गर्नुपर्नेछ। ठूला सवारीसाधन ठप्प हुनेछन। पुल बन्द हुँदा निकै समस्या भएको स्थानीय बताउँछन्। तरकारी ढुवानीमा समेत अप्ठेरो भएको उनीहरुको गुनासो छ। चार लेनमध्ये दुई लेन भए पनि खुला राख्नुपर्ने उनको स्थानीय बताउँछन्।

पुल निर्माणको काम चलिरहेकै बेला झन्डै दुई वर्षअघि निर्माण कम्पनीले डाइभर्सन बनाएर महाकालीपारिको दोधारा चाँदनीका बासिन्दालाई आउजाउ गर्न सहज गरिएको थियो। अघिल्लो वर्षको भीषण बाढीले पहुँच मार्ग भत्काएपछि केही समय अवरुद्ध भएको आवागमन सडक निर्माणपछि पुनः सञ्चालन भएको थियो।

दुवैतर्फ पर्खाल निर्माण भएपछि पुलको काम सकिनेछ। अहिले पर्खाल निर्माणसँगै पुलको दुवैतर्फ बन्ने पोखरीको काम चलिरहेको छ। पहुँच मार्गको काम पनि अन्तिम चरणमा रहेको इन्जिनियर पाण्डेयले बताए। उनका अनुसार पुलको दुवैतर्फ करिब चार÷पाँच सय मिटर मात्रै पहुँच मार्ग निर्माणको काम बाँकी छ। गड्डाचौकीदेखि दोधारा–चाँदनीको मलेरिया नालासम्म साढे ८ किलोमिटर पहुँच मार्ग निर्माण गर्नुपर्ने छ।

पुलको पूर्वपट्टि भीमदत्त नगरपालिकातर्फको पोखरी निर्माणको काम चलिरहेको छ। बर्खाअगावै उक्त पोखरीको काम सक्ने लक्ष्य रहेको निर्माण कम्पनीले जनाएको छ। बर्खापछि पश्चिमपट्टि दोधारा चाँदनीतर्फको पोखरी निर्माण हुनेछ। पुलको डिजाइनअनुसार दुवैतर्फ ६ सय मिटर चौडा र २६ सय मिटर लम्बाइका दुई पोखरी निर्माण गर्नुपर्नेछ। निर्माणाधीन चार लेनको पक्की पुललाई दोधारा चाँदनीमा बन्ने भनेको सुक्खा बन्दरगाहको प्रमुख पूर्वाधारका रूपमा लिइएको छ।

clock आइतबार १२, चैत २०७९ १५:०४

प्रतिक्रिया