कस्तो आउँदैछ सुदूरपश्चिमको बजेट ?

  शुक्रबार ०१, असार २०८० ०६:५०

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०र८१ को लागि आज शुक्रवार बजेट सार्वजनिक गर्दैछ । शुक्रवार दिउँसो ४ बजे प्रदेश सभामा आर्थिक मामिलामन्त्री नरेश कुमार शाहिले बजेट सार्वजनिक गर्दैछन् । 

सरकारले चालू आवको भन्दा करिब १५ प्रतिशत सानो आकारको बजेट ल्याउने तयारी गरेको छ । सरकारले चालू आवका लागि ३६ अर्ब ७४ करोड ६४ लाखको बजेट सार्वजनिक गरेको थियो । आगामी वर्ष करिब ३० अर्बहाराहारीको बजेट आउने आर्थिक मामिला मन्त्रालयका एक अधिकारीले बताए ।

संघीय सरकारले दिने अनुदान घटाएपछि सुदूरपश्चिमले पनि आकार घटाएर बजेट ल्याउने भएको हो । संघबाट आउने अनुदान कटौती भएको, बजेट खर्च अपेक्षित हुन नसकेको तथा प्रदेशले लक्ष्यअनुसार राजस्व संकलन पनि गर्न नसकेका कारण बजेटको आकार घटाइने भएको हो । 

चालू आवमा पुँजीगततर्फको २४ अर्ब १४ करोड बजेटमध्ये हालसम्म करिब नौ अर्ब ६१ करोड (३९.९८ प्रतिशत) र चालूतर्फ १२ अर्ब २९ करोडमध्ये ६ अर्ब ६१ करोड (५०.७७ प्रतिशत) खर्च भएको प्रदेश लेखाको तथ्यांक छ । यस वर्ष दुई अर्ब राजस्व संकलनको लक्ष्य लिएको सरकारले हालसम्म एक अर्ब १८ करोड मात्र संकलन गरेको छ ।

सरकार प्रदेश सभा सदस्यले वितरण गर्न पाउने गरी प्रदेश पूर्वाधार विकास कार्यक्रम ब्युँताउने तयारी छ । मन्त्रालय स्रोतका अनुसार यसअन्तर्गत प्रदेश सभा प्रतिनिर्वाचन क्षेत्रमा तीन करोडका दरले विनियोजन गर्ने तय भएको छ । 

आर्थिक मामिलामन्त्री नरेशबहादुर शाहीले बजेटमा रोजगारी र उत्पादनलाई प्राथमिकता दिइने बताएका छन् । त्यसका लागि कृषि र पर्यटन क्षेत्रका कार्यक्रमलाई जोड दिइने उनले बताए । त्यस्तै सामाजिक सुरक्षाको दायित्वअन्तर्गत शिक्षा र स्वास्थ्य क्षेत्रका कार्यक्रमलाई पनि प्राथमिकतामा राखेर बजेट विनियोजन गरिने उनको भनाइ छ । 

clock शुक्रबार ०१, असार २०८० ०६:५०

प्रतिक्रिया